विकल्प न्यूज/बेनी
बैशाख २० गते । म्याग्दीको बेनी नगरपालिका–५, भिरमुनीका नरबहादुर खत्रीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी नागरिकद्वय ईन्द्र शंकर र ज्ञान शंकरले अमेरिकाबाट पठाएको नगद पाँचहजार रुपैयाँ बिहीबार खत्री परिवारलाई हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र रेडक्रसकर्मी मोहन बानियाँमार्फत अपाङ्गता खत्रीलाई हस्तान्तरण गरिएको छ । रोजगारको सिलसिलामा भीरमुनीका शिक्षण पेशा गर्ने क्रममा चिनजान भएपछि भुटानी नागरिकद्वयले अपाङ्गता खत्रीलाई स्वास्थ्योपचार तथा खानपानको खर्चस्वरुप सहयोग गरेको जनाइएको छ ।
सहयोग रकम हस्तान्तरणको वातावरण मिलाउन मोहन बानियाँले समन्वय गरेका थिए । हाल बेनीको क्याम्पसचोकमा बस्दै आएका खत्री शारिरीक रुपमा अपाङ्गता छन् । जन्मजात रुपमा अपाङ्गता रहेका खत्री उठेर हिँड्डुल गर्न सक्दैनन् भने घिस्रनुपर्ने बाध्यता उनीसँग रहेको छ । आमा, श्रीमती र एक छोरा रहेको खत्रीको परिवारलाई जीवनयापनका लागि थप सहयोगको समेत आवश्यकता देखिएको छ ।