संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह

विकल्प न्यूज/बेनी
बैशाख २० गते ।  Ramche ko Kalidahaप्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग अन्तरगतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बिचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझलमा परेको हो ।

मोहरेडाँडामा पर्यटकको आगमन बढेपनि कालीदह सुनसान बनेको राम्चेका भक्तबहादुर पुर्जाले बताउनुभयो । करिब ६० मिटर लम्बाई, ३५ मिटर चौडाई र दश मिटर गहिराई भएको ताल गोलो आकारको छ ।

पृष्ठभुमिमा रहेका अन्नपूर्ण र निलगिरी हिमालको दृष्य समेत देख्न सकिने ताल निकै आकर्षक रहेको हालै त्यहाँको भ्रमण गरेर आउनुभएका अर्जुन खत्रीले बताउनुभयो । लालीगुराँसको जंगलको बिचमा रहेको कालीदह तालको संरक्षण र प्रचारप्रसार गर्न सकेमा पर्यटकीय स्थलको रुपमा विकास हुने प्रशस्त सम्भावना रहेको उहाँको भनाई छ ।

राम्चे गाउँबाट दुई घण्टा पैदल हिडेपछि पुगीने काली दह प्रसिद्ध पर्यटकीय स्थल पुनहिल र मोहरेडाडाँको बिचमा अवस्थित छ । कालीदहलाई पदमार्गमा समेटेर पर्यटककीय स्थल बनाउन पहल गरिने राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजा पुनले बताउनुभयो । सो तालमा पुजाआजा गरेमा मनोकाक्षा समेत पुरा हुने धार्मीक विश्वास रहेको छ ।