राम्चेको देउराली विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना

विकल्प न्यूज/बेनी
बैशाख २० गते । deurali school ramche अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयमा समुदायको पहलमा पच्चिस लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दि भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक सुधारका लागि स्थानीयबासीको पहलमा २५ लाख दश हजार १९५ रुपैयाँको अक्षयकोष स्थापना भएको हो ।

स्थानीयबासी, प्रवासी, युवा, क्लब आमा समूहको पहलमा स्थापीत कोषमा दाताहरुबाट थप सहयोग प्राप्त हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजाले बताउनुभयो ।

उहाँका अनुसार २०७४ चैत सम्म २० जना दाताहरुले २१ लख ७० हजार १०० रुपैयाँ जम्मा गरेको कोषमा गत वर्ष तिन लाख ६७ हजार ७९८ रुपैयाँ ब्याज आम्दानी भएको थियो । ब्याजबाट भएको आम्दानी मध्य शिक्षकको तलबमा एक लाख ४६ हजार ६०० र भौतिक पूर्वाधारमा एक लाख ८४ हजार ६०० रुपैयाँ खर्च भएको छ । DSC01187बाँकी ३७ हजार ९५ रुपैयाँ अक्षयकोषमा थप गरेर २५ लाख दश हजार १९५ रुपैयाँ पु¥याइएको हो । आधारभुत तहका चार र बालशिक्षा सहयोगी कार्यकर्ता सहित १–५ तहका चार जना शिक्षक मध्य तिन जनाले उपल्लो तहमा अध्यापन गराउँछन् । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा करिब एक सय जना विद्यार्थी अध्ययनरत छन् ।

अक्षयकोषमा भिमबहादुर गर्बुजाले तिन लाख, सन्तबिर गर्बुजाले दुई लाख पचास हजार, बिरबहादुर पुर्जाले दुई लाख एक हजार, थमानसिङ गर्बुजाले एक लाख पाँच हजार, महेशराम गर्बुजा एक लाख पाँच हजार, ओमकुमारी पुर्जाले एक लाख पाँच हजार, देउजित तिलीजाले एक लाख एक हजार १०० र अगेन्द्र गर्बुजाले एक लाख बाह् हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसैगरी देवकेनी पुर्जा, पुनिसारा गर्बुजा, डिलमाया गर्बुजा (राम्चे), चम्पादेवी पुर्जा, डिलमाया गर्बुजा (बेनी) र डिलमाया गर्बुजा (राम्चे ख)ले एकएक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । विसन गर्बुजा ५५ हजार, चामबहादुर गर्बुजा पचास हजार, गोपालसिङ गर्बुजा साठी हजार, देवकेनी पुर्जा एकाउन्न हजार, टिकजित गर्बुजा पचास हजार, गिता गर्बुजाले पच्चिस हजार सहयोग गर्नुभएको छ ।

गाउँ, देशका विभिन्न सहरमा बसोबास गर्ने र रोजगार, पेशा, व्यवसाय, अध्ययनका लागि प्रवासमा रहेका राम्चेबासीहरुले बिवाह, जन्मदिनको अवसरका साथै आफन्तको स्मृतिमा विद्यालयको अक्षयकोषमा सहयोग गरेका व्यवस्थापन समितिका पूर्व अध्यक्ष फसबहादुर गर्बुजाले बताउनुभयो ।

उक्त विद्यालयमा साबिकको जिल्ला शिक्षा कार्यालयको ३६ लाख रुपैयाँको अनुदानमा चार कोठे कक्षा कोठा भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा बन्न लागेको भवन सरकारी बजेटले पूर्ण नहुने भएपछि स्थानीयबासीबाट थप रकम जुटाएर सम्पन्न गर्न लागिएको छ ।