टुक्रे योजना बनाउनेलाई बेगका जनप्रतिनिधिको चुनौती

विकल्प न्यूज/बेनी
बैशाख २० गते । Bega Traking Root
सबैलाई समेट्ने बाहनामा कार्यकर्ता पाल्न टुक्रे योजना बनाएर बजेटलाई चारो झै छर्ने प्रवृत्तिलाई रघुगंगा गाउँपालिका १ बेगका जनप्रतिनिधिहरुले चुनौती दिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाले वडाका लागि बिनियोजन गरेको बजेटलाई एउटै योजनामा लगानी गरेर बेगका जनप्रतिनिधिहरुले टुक्रे योजना बनाएर बजेट छर्ने प्रवृत्तिलाई चुनौती दिएका हुन् ।

गाउँपालिकाले वडालाई उपलब्ध गराएको ४८ लाख रुपैयाँ बेग बादुक झोलुङ्गे पुल देखि देउराली जोड्ने पदमार्ग निर्माणमा बिनियोजन गरिएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । थोरै बजेटका धेरै टुक्रे योजना बनाउँदा प्रभावकारी र पुरा नहुने तथा जनतालाई भार पर्ने भएपछि एउटै योजनालाई पूर्णता दिने गरी जनप्रतिनिधि र स्थानीयबासीहरुबीच छलफल गरेर पर्याप्त बजेट बिनियोजन गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

पुल देखि देउरालीसम्म एक किलोमिटर पदमार्ग निर्माण गर्ने काम तिब्र रुपमा अघि बढेको छ । हालसम्म छ सय मिटर ढलान सहितको पदमार्ग निर्माण भइसकेको छ । थप चार सय मिटर पदमार्ग निर्माण कार्य यसै महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

नेपालकै लामो दावी गरिएको ३६५.८ मिटर लम्बाई भएको पुल बनेपनि पदमार्ग नहुँदा आवत जावतमा समस्या भएको थियो । पर्यटकीय महत्वको पुलको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीको सुबिधालाई मध्य नजर गरेर प्राथमिकताका आधारमा पदमार्ग निर्माण योजना सञ्चालन गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

पदमार्ग अभावमा भिरालो पाखोको झाडीको बिचबाट चिप्लो र अप्ठ्यारो घोरेटो बाटो हिड्नुपर्ने अवस्था थियो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बेगका जनप्रतिनिधि र बासिन्दाले विकासका लागि नमुना काम गरेको बताउनुभयो ।