सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १९ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले दुई वटा कार्यबिधी पारित गरेको छ । पोखरेबगर स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको नियुक्ती र सरुवा सम्बन्धि कार्यबिधी पारित गरेको छ ।
यसैगरी भारतीय दुतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनका लागि तयार पारिएको कार्यबिधी समेत बैठकबहाट पारित भएको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका २ नम्बर वडा भुरुङ तातोपानीका अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।
कार्यपालिकाले पारित गरेका कार्यबिधी कानुनको रुपमा क्रियाशिल हुनेछन् । कार्यबिधी पारित भएपछि रित्त दरबन्दिमा शिक्षक नियुक्ती गर्ने र सरुवाका लागि कानुनी बाटो खुलेको छ । सामाजिक विकास समितिले तयार पारेको कार्यबिधीको मस्यौदालाई बिधेयक समितिका सदस्य बुद्धीबहादुर पुनले बैठकमा पेश गर्नुभएको थियो ।
आगामी गाउँसभामा पेश गर्ने शिक्षा, सहकारी लगायतका ऐनहरुको मस्यौदा तयार पार्न विषयगत समितिहरुले छलफललाई तिब्रता दिएका छन् । सामाजिक विकास समितिले शिक्षा ऐनको मस्यौदा तयार पारिसकेको संयोजक फगामीले बताउनुभयो । भौतिक पूर्वाधार र आर्थिक समितिले पनि सम्बन्धित ऐनको मस्यौदा तयार पार्न जुटेका छन् ।
यसैगरी कार्यपालिका बैठकले संघीय र प्रदेश सरकारको एक स्थानीय तह एक उद्योग ग्राम योजनाका लागि अन्नपूर्ण गाउँपालिकामा स्थान छनौट गरेर सिफारिस गर्ने निर्णय गरेको छ । ६ नम्बर वडाको खिवाङमा उद्योग ग्राम सञ्चालन गर्न पाँच सय रोपनी जग्गा व्यवस्थापन गर्ने निर्णय सहित सिफारीस गरिएको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखाबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकालाई समानीकरण अनुदान शिर्षकमा ११ करोड ४२ लाख ९१ हजार रुपैयाँ स्रोतको विवरण पठाएको बैठकमा जानकारी गराइएको थियो । सोही स्रोतलाई आधार मानेर वित्तिय समानीकरणको बजेटको आगामी वर्षका योजना तथा कार्यक्रम तय गरिने भएको छ ।