विकल्प न्यूज/बेनी
बैशाख १९ गते । मालिका गाउँपालिका १ निस्कोट देखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले उपभोक्ता समिति मार्फत निस्कोट देखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण सुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानमा निस्कोट देखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडा अध्यक्ष टंक पुनले जानकारी दिनुभयो ।
साढे चार फुट चौडाई भएको ढुङ्गाको सिढी सहितको पदमार्ग निर्माण भएको हो । ५३ घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । आगामी वर्ष थप ३९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडा अध्यक्ष पुनले बताउनुभयो । पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई आवत जावतमा सहज भएको छ ।
निस्कोट गाउँदेखि करिब २० मिनेट उकालो हिडेपछि पुगीने बराहतालको पृष्ठभुमिमा धौलागिरी, गुर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायत दश वटा हिमाल देख्न सकिन्छ । ६० मिटर लम्बाई, ४० मिटर चौडाई र सात मिटर गहिराई भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ ।
बराह तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरि पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । पदमार्ग निर्माण कार्यलाई पूर्णतासंगै तालमा सधैभरी पानी भरिभराउ बनाउने र घेराबार गर्ने योजना बनाइएको छ । तालको महत्वका बारेमा प्रचारप्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको वडा अध्यक्ष पुनले बताउनुभयो ।