बेगमा सात करोडको खानेपानी आयोजना सञ्चालन

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । Begkhola Khanipani Tanki Photoरघुगंगा गाउँपालिका १ मा सात करोड रुपैयाँ लागत अनुमान गरिएको बृहत बेगखोला खानेपानी तथा सरसफाई आयोजना सञ्चालन भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित यो आयोजनाको असी प्रतिशत निर्माण कार्य सकिएको उपभोक्ता समितिले जनाएको छ । मुख्य र वितरण पाईपलाईन विस्तार, मुहान र रिजर्भ टंकी तथा भल्ब च्याम्बर निर्माण कार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिनुभयो ।

सात वटा स्कीम रहेको आयोजनाको भजनी टोलको तेस्रो, बाँसबोटको चौथो, मरथानाको पाँचौ र सिरुबारीको सातौ स्किमको काम सकिएर करिब साठी घरमा खानेपानी वितरण भैसकेको छ । बेग, सिम, औला र बादुकमा पनी आयोजनाको काम असी प्रतिशत भन्दा बढी सकिएको छ ।

सबैभन्दा धेरै उपभोक्ता रहेको पहिलो स्कीमको एकछानेको मुहानमा ईन्टेक, मुख्य पाईपलाईन, एक लाख लिटर क्षमताको रिजर्भ टंकी र भल्ब च्याम्बरहरु निर्माण भएको छ । घरघरमा जडान भएको मिटर सहितको निजी धारामा खानेपानी वितरण गर्ने तयारी भएको अध्यक्ष परियारले बताउनुभयो ।

वि.स २०७० मा सर्वेक्षण भएको यो आयोजनाको अनुमानीत लागत सात करोड २५ लाख रुपैयाँ रहेको छ । सरकारको असी प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद सहभागीतामा आयोजना निर्माण हुन लागेको हो ।

आयोजनाबाट बेगको तिप्ल्याङ बाहेक सबै बस्तीका ४५० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताउनुभयो । बेग, सिमबाँट, सिरबारी, सेउलु, बादुक र औलामा बासिन्दाहरु यो आयोजनाबाट लाभान्वित हुनेछन् ।

यस वर्ष पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य सहित योजनालाई अघि बढाएको अध्यक्ष परियारले बताउनुभयो । आयोजनाको भल्ब च्याम्बर, रिजर्भ टंकी, मुख्य र वितरण पाईपलाईन निर्माण गर्ने काममा स्थानीयले प्रतिघर एक महिना भन्दा बढी समयका दरले श्रमदान गरेका छन् । घरमै खानेपानी आउने भएपछि सुबिधा हुने अपेक्षा गरिएको औलाकी बालकुमारी शर्माले बताउनुभयो ।

बेगका बासिन्दाहरुले हाल सार्वजनिक धारा मार्फत खानेपानी उपभोग गर्दै आएका छन् । पुरानो आयोजनाबाट आवश्यकता अनुसार खानेपानी आपूर्ती हुन सकेको छैन् । निजी धारा जडान गर्दा खानेपानीका साथै करेसाबारीको सिँचाईमा पनि सुबिधा पुग्ने र आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताउनुभयो ।