हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । Histan Ramche Roadट्याक खुलेको छ वर्षपछि अन्नपूर्ण गाउँपालिकाको ७ नम्बर वडामा पर्ने महभिर देखि हिस्तान हँुदै ८ नम्बर वडा राम्चे जोड्ने हिस्तान राम्चे सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु भएको छ ।

साँघुरो, जिर्ण, नमिलेका घुम्ती र ग्रेड नमिलेको उकालो सडकलाई सुधार गरेर नियमित सवारी सञ्चालन गराउने उद्देश्यले गाउँपालिकाले सडक मर्मत तथा स्तरोन्नतीको काम सुरु गरेको हो । वि.स २०६८ सालमा स्थानीयबासीहरुले एक करोड रुपैयाँ भन्दा बढी चन्दा जुटाएर ट्याक खोलेको यो सडकमा ट्याक्टर बाहेकका सवारी साधन सञ्चालन नहुँदा स्थानीयबासीले सुबिधा पाउन सकेका छैनन् ।

सडकलाई स्तरोन्नती र सुधार गरी यातायात सेवा दिने उद्देश्यले यस वर्ष गाउँपालिकाको पचास लाख रुपैयाँ अनुदानमा उपभोक्ता समिति मार्फत काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

पहिलो चरणमा महभिर देखि दोसल्ले, रिमा, धारापानी, करबाकेली, राम्चे हँुदै नांगीसम्म डोजरले सडकलाई फराकीलो बनाउने, ग्रेड र घुम्ती मिलाउने काम गरिएको छ । उपभोक्ता र मजदुर परिचालन गरेर ग्यावियन पर्खाल, सोलीङ, ढलानको काम समेत गरिने हिस्तान राम्चे सडक उपभोक्ता समितिका सचिव फासबहादुर गर्बुजाले बताउनुभयो ।

करिब बिस किलोमिटर दुरीको यो सडकमा सवारी साधन सञ्चालन भएपछि राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्र पोखरेबगर पुग्न जलजलाको मल्लाज सदरमुकाम बेनी हँुदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

पहाडी भुगोल र ठूलो लगानी आवश्यक पर्ने भएकाले संघीय र प्रदेश सरकारसंग पहल गरिएको राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको अलावा वडाबाट बिनियोजित बजेटले समेत राम्चे खण्डमा स्तारोन्नतीको काम गरिएको छ ।

काफलडाँडामा चार लाख, राम्चेमा एक लाख, नांगीमा चार लाख रुपैयाँ बिनियोजन गरेर सोलीङको तयारी भएको छ । ग्यावीयन पर्खाल निर्माणका लागि दुई लाख बिनियोजन भएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।