पुनहिलमा सार्वजनिक शौचालय निर्माण

विकल्प न्यूज/बेनी
बैशाख १३ गते । Punhill Ma Public Toiletम्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय स्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण भएको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुबिधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तिन वटा सार्वजनिक शौचालय निर्माण भएको हो ।

पर्यटक याममा दैनिक पाँच देखि सात सय जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको थियो । पुनहिलको सरसफाई र पर्यटकको सहजताका लागि १५ लाख रुपैयाको लागतमा शौचालय निर्माण भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका सचिव रनबहादुर पुनले बताउनुभयो ।

घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्धार, नेपाल टेलीकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनीक शौचालय निर्माण गरिएको हो । बिशिष्ट व्यक्तिहरु समेत आउने भएकाले उनिहरुलाई लक्षित गरेर शौचालयलाई आधुनिक शैलीको बनाइने घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताउनुभयो ।

गत कात्तिक महिनादेखि निर्माण सुरु भएको सार्वजनीक शौचालयमा पानीको व्यवस्था गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ । विद्युतको सहायताले पुनहिलदेखि तल रहेको मुहानबाट पानी पम्पीङ गरेर शौचालयमा पु¥याई ड्रममा संकलन गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

उच्च स्थानमा अवस्थित सो ठाउँमा पानीको सुबिधा नभएकाले शौचालयमा प्रयोग गर्न पानी पम्पीङ गर्नुपर्ने भएको घोडेपानीका होटल ब्यवसायी अनुप पुनले बताउनुभयो । भ्रमणमा आउने पर्यटक र होटल व्यवसायीबाट सहयोग जुटाएर शौचालय निर्माण गरिएको हो ।

होटल व्यवस्थापन उपसमितिले यसअघि घोडेपानी र पुनहिल जाने पदमार्गमा चार वटा प्रवेशद्धार निर्माण गरेका थिए । यसैगरी चार किलोमिटर भन्दा बढी व्यवस्थित पदमार्ग निर्माण गरेका छन् । गुरासे जंगलको बिचको डाँडामा अवस्थित पुनहिलबाट सुर्योदय, हिमशृङखला र पहाडी भुगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।