घार स्वास्थ्य चौकीको भवन निर्माण कार्य तिब्र

विकल्प न्यूज/बेनी
बैशाख ११ गते । Ghara Health Post Buildingम्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत गत माघ महिनादेखि भवन निर्माण कार्य सुरु गरेको थियो । ठेक्का सम्झौता गरेको आचार्य उत्तरगंगा निर्माण सेवाले काम सुरु गरेको करिब तिन महिनाको अवधिमा पहिलो तला ढलानको तयारी गरेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । दुई तले भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङ्गमैत्री भवन निर्माणका लागि एक करोड ५६ लाख रुपैया लागत अनुमान गरिएको छ ।
२०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखीएको उक्त भवनमा १५ वटा शैया, स्वास्थ्य परिक्षण, ल्याब, औषधी भण्डारी, एक्सरे लगायतका कक्षको सुबिधा हुनेछ । साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुबिधा सम्पन्न भवन निर्माणका लागि स्थानीयबासीले दान र आर्थिक सहयोग जुटाएर घारको निमरुख भन्ने ठाउँमा चार रोपनी १ आना जग्गाको व्यवस्था गरेका थिए । स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष ठगराज बरुवालले बुवा अमरबहादुरको नाममा एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो ।
हाल घार स्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज र सेवाको गुणस्तर बढ्ने अध्यक्ष बरुवालले बताउनुभयो । हाल बिरामीको स्वास्थ्य परिक्षण गर्ने, औषधी भण्डारण गर्ने देखि प्रशासनीक काम एउटै कोठाबाट गर्नुपर्दा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।