हुलाकीडाँडाका इश्वरको जिल्लामै पहिलोपटक टर्की पालनव्यवसाय

सन्तोष गौतम/विकल्प न्यूज
बैशाख १० गते ।  Tarki palaयुवाको लहर विदेशतिर बढिरहेका बेला बेनीका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । बेनी नगरपालिका १ हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पंक्षी पालन गर्नुभएको हो । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राख्नुभएका केसीले टर्की पालन गरी स्वदेशमै बसेर नाम र दाम कमाउन सकिने सन्देश दिनुभएको हो । डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न सुरु गर्नुभएको थियो ।
एक वर्षसम्म प्रत्येक हप्ता सात वटाका दरले चल्ला बिक्री गर्दै आउनुभएको छ । मासुका लागि जिउँदो टर्की समेत बिक्री गर्नुहुन्छ । एक दिनको टर्कीको चल्ला तिन देखि चार सय र एक महिना पाल्दा एक हजार पाँच सय रुपैयाँ मूल्य पर्छ । चार महिनामा चल्ला दिन सुरु गर्ने टर्की ६ देखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ । Ishowr kc 1भाले १२ देखि १३ किलोग्राम र पोथी ७ देखि ८ किलोग्राम तौलको हुन्छ । एक केजी टर्कीको मासुको मूल्य एक हजार रुपैयाँ छ । सुरुमा नयाँ कार्यको थालनी गर्दा टोल छिमेकको हाँस्य पात्र बनेका केसी यतिखेर नमुना कृषकको रुपमा चिनीन थाल्नुभएको छ । सञ्चार माध्यम र ईन्टरनेटको माध्यमबाट टर्की पालन सम्बन्धि जानकारी पाएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको थियो ।

झट्ट हेर्दा ब्रोइलर कुखुरा जस्तो देखिने पक्षीजन्य टर्की पालन गर्ने केसी धौलागिरि क्षेत्रकै पहिलो कृषक भएको दावी गरिएको छ । टर्कीको मासु गाउँमै बिक्री भईरहेको छ । बेनीबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् । विदेशको कमाइभन्दा स्वदेशमै बसेर व्यवसाय गरी दाम कमाउने सपना बोक्नुभएका केसीले स्वअध्यन गरेर टर्कीपालन सुरु गर्नुभएको हो । अण्डा उत्पादनका लागि पाँच सय लेयर्स जातका कुखुरा पालन गर्दै आएका केसीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकीनी, घाँर्टीखुईले, उल्टे जातका कुखुरा पालन सुरु गर्ने योजना बनाएको बताउनुभयो ।

एक वर्षमा पूर्ण रुपले तयार हुने पक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्नुहुन्छ । उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरल, युरिक एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा नहुने हुँदा विदेशीको मात्र नभई स्वदेशीहरुबाट समेत यसको मासुको माग बढिरहेको छ ।