यसरी पुग्न सकिन्छ अन्नपूर्ण आधार शिवीर

विकल्प न्यूज/बेनी
बैशाख १० गते । Narchang Annpaurna Base Camp Traking Rootनारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिवीर जोड्ने नयाँ पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङदेखि पहिलो पटक हिमाल आरोहण र पदयात्रीको टोली गत शुक्रबार आधार शिवीर पुगेका हुन् । बुधबार नारच्याङबाट आधारशिवीरतर्फ प्रस्थान गरेको पर्यटकहरुको टोली तिन दिनमा आधार शिवीर पुगेको दानाका होटल ब्यवसायी ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।

ब्यवसायी शेरचनको पहलमा सेभेन समिट टे«कीङ मार्फत पथप्रर्दशक मिङ्मा शेर्पाको नेतृत्वमा ५ जना दक्षिण कोरीयाका हिमाल आरोही सहित पर्यटक र भरियाहरुको २१ जनाको टोली पहिलो पटक नारच्याङ देखि हिडेर अन्नपूर्ण आधार शिवीर पुगेका हुन् । निलगिरी खोलाको किनारै किनार स्थानीयबासी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप)ले बनाएको पदयात्राको प्रयोग गरेर उनिहरु आधार शिवीर पुगेका हुन् ।

यो पदमार्ग अन्नपूर्ण आधार शिवीर पुग्ने सबैभन्दा छोटो बाटो भएको पथप्रर्दशक शेर्पाले बताउनुभयो । यसअघि अन्नपूर्ण आधार शिवीर पुग्न मुस्ताङको लेतेबाट पैदल र म्याग्दीको दानाबाट हेलीकप्टरबाट जाने गरिएको थियो । लेतेबाट दुई वटा भ्याली पार गरेर आधार शिवीर पुग्न चार दिन लाग्ने गरेको थियो । हेलीकप्टर चार्टर गर्दा एक पटकको डेढ लाख रुपैया तिर्नुपर्दथ्यो । नयाँ पदमार्ग सञ्चालन भएपछि यात्रा अवधि छोटिनुका साथै खर्च समेत घटेको छ । पहिलो पटक पदमार्ग प्रयोग गरेर आधार शिवीर प्रस्थान गरेका पर्यटकहरुको टोलीलाई नारच्याङको आमा समूहले बिदाई गरेका थिए । annapurnaवि.स २०७२ देखि निर्माण सुरु भएको पदमाग निर्माण कार्यले पूर्णता पाएपछि सञ्चालनमा ल्याइएको हो । नारच्याङबाट पहिलो दिन कालोखोला, दोस्रो दिन फुलबारी बास बसेर तेस्रो दिन बेसक्याप पुगीन्छ भने आधार शिवीरबाट दुई दिनमै नारच्याङ फर्कीन सकिन्छ । पदमार्गमा होटल तथा लज नभएकाले पदयात्री तथा आरोहीहरु बन्दोबस्तीका सामान सहित जानुपर्नेछ । पर्यटन विभाग, एक्याप लगायतका निकायले यस पदमार्गमा पूर्वाधार निर्माणमा हालसम्म साठी लाख रुपैया भन्दा बढी लगानी गरिसकेका छन् ।

पदमार्गको स्तरवृद्धी, अस्थाई टहरा र झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको गाउँ संरक्षण तथा पर्यटन प्रर्वद्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को दश लाख रुपैया अनुदानमा गत वर्ष स्थानीय बासीन्दाले श्रमदान गरेर निलगिरी खोलामा ३७ मिटर लामो झोलुङ्गे पुल गरेका थिए । निलगिरी खोलाकै अन्य दुई स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार थप आठ ठाउँमा झोलुङ्गे पुलको आवश्यकता देखिएको छ । तस्विर इन्द्रशिंह सेरचन