रघुगंगामा कानुन निर्माणको तयारी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ बैशाख । Raguganga officeरघुगंगा गाउँपालिकाले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरि ‘एक जनप्रतिनिधी एक नयाँ विद्यार्थी भर्ना’ अभियान सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार बसेको कार्यपालिकाका वैठकले विद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान र उनीहरुलाई शिक्षाको प्रत्याभूत गर्न वैशाख १० गतेभित्र जनप्रतिनिधीहरुले अनिवार्य रुपमा एकजना विद्यार्थीलाई भर्ना गराउनुपर्ने निर्णय गरेको हो ।

भर्ना अभियान थप प्रभावकारी बनाउन जनप्रतिनिधिलाई अभियानमा जोड्न यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । रघुगंगाका ८ वटै वडाका जनप्रतिनिधिलाई भर्ना अभियानमा परिचालन गरिने भएको छ ।

वैठकले गाउँपालिकामा एकिकृत सम्पत्ति कर लागू गर्नका लागि संभाव्यता अध्ययनसँगै त्यसबारे अनुभव आदानप्रदान गर्ने, गाउँपालिका भित्र सञ्चालनमा रहेका सडकहरुको दीगोपनाका लागि वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

त्यस्तै, गाउँपालिकामा पर्ने राष्ट्रिय राजमार्ग बेनी जोमसोम सडक बाहेकका ग्रामिण सडकमा सञ्चालन हुने सवारीसाधनबाट कर संकलन गर्ने निर्णय गरिएको कार्यपालिकाका प्रवक्ता जीवन मल्लले जानकारी दिनुभयो ।

उनका अनुसार, डोजरलाई प्रतिदिन ५ सय, जेसीभीलाई ४ सय, ट्याक्टरलाई २ सय, जीपलाई १५०, ट्याक्सीलाई एकसय र बसहरुको २ सय रुपैयाँ शुल्क तोकिएको छ । झि र पिप्लेबाट बैशाख ५ गतेबाटै कर उठाउन सुरु गरिने उहाँले बताउनुभयो । सवारी साधानबाट लिईने शूल्क ग्रामिण सडक मर्मत, सम्भारमा परिचालन गरिने भएको छ ।

गाउँपालीकाले तोकेको सार्वजनीक यातायातको भाडादर कार्यान्वयन र ट्याक्टरले क्षमता भन्दा बढी सामान बोकेर बाटो बिगार्ने समस्या समाधानका लागि नियमन गरिने प्रवत्ता मल्लले बताउनुभयो ।

गाउँपालिकाले विभिन्न ऐन तथा विद्येयकहरु पारित गर्न वैशाख १७ र १८ गते गाउँसभा आयोजना गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद चापाँगाईले जानकारी दिनुभयो ।