भुरुङमा मध्य कालीगण्डकीको सार्वजनिक सुनुवाई

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २६ चैत ।

Crossing the Arun River near Chyamtang

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारी भएको छ ।

हाईड्रो सपोर्ट प्रा.ली काठमाडौले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ ।

अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युतगृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको जानकारी गराइएको थियो । चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विद्युतगृह देखि फोरबेको उचाई ११५ मिटर हुने जनाइएको छ ।

प्रतिवेदन तयार पारेर स्विकृत भएपछि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गरी विद्युत विकास बिभागले पूर्वाधार निर्माणको अनुमती दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्ष भित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताउनुभयो ।

ढकालले करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्ताहरुलाई समेत आव्हान गर्नुभएको छ । प्रभावीत क्षेत्रका बासिन्दालाई पब्लिक सेयरको समेत सुबिधा दिइने भएको छ ।

वडा अध्यक्ष ओमप्रकाश फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजना, उर्जा मन्त्रालयका प्रतिनिधि, प्रजिअ कृष्णप्रसाद अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, ३ नम्बर वडाका अध्यक्ष नरसिङ पुर्जा, ४ का अध्यक्ष चन्द्रप्रसाद फगामी, ५ र ६ नम्बर वडाका प्रतिनिधि, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायत स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।

सहभागीहरुले कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्नेगरी आयोजना निर्माण गर्न सुझाव दिएका थिए । भुगर्भबिद्हरुले गरेको अध्ययन अनुसार जलविद्युत आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो । अन्नपूर्ण गाउँपालिकामा हाल ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

४ नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको निलगिरी र ६२ मेगावाटको निलगिरी क्यासकेट जलविद्युत आयोजना निर्माणका लागि सडक निर्माणको काम भैरहेको छ । ३ नम्बर वडा दानामा सब स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत प्रशारण लाईन निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । प्रशारण लाईन र सबस्टेशन निर्माणसंगै जलविद्युत आयोजना निर्माण कार्यले तिब्रता पाएको भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।