राम्चे स्वास्थ्य चौकीको भवन निर्माणमा

ढिलाई
विकल्प न्यूज/बेनी
चैत २२ गते ।

Ramche Health Post Building Alapatraअठार महिनामा सकिनुपर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको स्वास्थ्य चौकीको भवन निर्माण कार्य चार वर्षमा समेत पुरा भएको छैन् ।

भवन निर्माणमा ढिलाई हुँदा सेवा प्रभावित भएको छ । वडा कार्यालयको दुई वटा कोठाबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य चौकीका प्रमुख चाँदनी घलेले साँघुरो सिमीत कोठामा बसेर काम गर्दा बिरामीको स्वास्थ्य परिक्षण, समस्या पहिचान, औषधि भण्डारी, प्रसुती गृह सञ्चालनमा समस्या भएको बताउनुभयो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले वि.स २०७१ मा करिब दुई करोड रुपैयाँको लागतमा राम्चे स्वास्थ्य चौकीको भवन निर्माण सुरु गरेको थियो । अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का सम्झौता भएको भवनको पलास्टर, घेराबार, रंगरोगन, विद्युत र पानी जडान गर्ने लगायतको काम अझै बाँकी छ ।

निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीसंगै सम्बन्धित निकायको बेवास्ताका कारण भवन निर्माणमा लापरबाही भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य यामबहादुर पुर्जाले बताउनुभयो । उक्त भवन निर्माणका लागि भगवती निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

भवन डिभिजनका ईञ्जिनियर गणेश मर्हजनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा ढिलाई भएको बताउनुभयो । उहाँले भवन निर्माणको कामलाई तिब्रता दिन ताकेता गरिरहेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण निर्माण सामाग्रीको ढुवानी गर्न समस्या, दक्ष कामदारको अभाव, उच्च पहाडी भुगोलका कारण हिउँदमा चिसो र बर्खामा पानीले काम गर्न समस्या भएको निर्माण व्यवसायी गोपाल भट्टचनले बताउनुभयो ।

चालु आर्थिक वर्षभित्रनै भवन सम्पन्न गर्ने व्यवसायी भट्चनले दावी गर्नुभयो । सो स्वास्थ्य चौकीबाट राम्चे, काफलडाँडा र नांगीका पाँच सय भन्दा बढी घरधुरीले सेवा लिने गरेका छन् ।