गाउँपालिका केन्द्र भएपछि पोखरेबगरमा बजारीकरण तिब्र

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ चैत । Pokhabagar
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बजारीकरणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनसंगै गाउँपालिकाको ६ नम्बर वडामा पर्ने पोखरेबगरमा नयाँ घर निर्माण हुने, होटल, पसल खुल्ने क्रमसंगै घरजग्गाको कारोबार र मूल्य बढेको हो । सदरमुकाम बेनीमा ब्यापार व्यवसाय गर्दै आएकाहरु पछिल्लो समय गाउँपालिकाको केन्द्रमा सर्न थालेका हुन् । गाउँपालिकाको कार्यालयमा विभिन्न कामले आउने सेवाग्राहीको चहलपहलसंगै पोखरेबगर गाउँबाट बजारमा रुपमान्तरण भएको टोल विकास समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो ।

एक वर्षयता पोखरेबगरमा बिस भन्दा बढी पक्की घर, टहरा निर्माण भैसकेको छ । हार्डवयर, फेन्सी, होटल तथा रेष्टुरेन्ट, तरकारी, खाद्यान्न पसलहरु खुलेका छन् । दुइ वर्षअघि प्रति हात ९० हजारमा बिक्री हुने घडेरीको मूल्य अहिले प्रतिहात तिन लाख पुगेको अध्यक्ष गिरीले बताउनुभयो ।

गाउँपालीकाको विभिन्न वडाका बासिन्दाका साथै सहरी क्षेत्रका ब्यापारीहरुले पोखरेबगरमा घडेरी किन्ने क्रम बढेको छ । पोखरेबगरमा हालै खुलेको एभरेष्ट होटलका सञ्चालक राजाराम बरुवालले स्थानीय तह कार्यान्वयनसंगै ग्रामिण बजारमा चहलपहल बढेको बताउनुभयो । बजारीकरणसंगै आवश्यकताले गर्दा होटल व्यवसायमा लगानी गरेको उहाँले बताउनुभयो ।
उत्तरी क्षेत्रका गाउँबाट बेनी बजारमा आएर लामो समय होटल सञ्चालन गरेका ब्यवसायीहरु समेत ब्यवसाय गर्नका लागि पोखरेबगर गएका छन् । व्यवसायिक गतिबिधिसंगै घर भाडा बढेको छ । हालै गरिमा विकास बैङ्कले भुरुङ तातोपानीमा रहेको शाखालाई पोखरेबगरमा स्थानान्तरण गरेको थियो ।

तिब्र रुपमा भैरहेको बस्ती विकाससंगै पोखरेबगरमा खानेपानी, ढल निकास, फोहोर व्यवस्थापनको समस्या देखिएको छ । कालीगण्डकी नदीमा रहेको पोखरेबगर नदी कटानको जोखिममा छ । ६ नम्बर वडाका अध्यक्ष कृष्णप्रसाद बरुवालले बस्ती विकासलाई व्यवस्थित र पूर्वाधार निर्माणमा प्राथमिकता दिइने बताउनुभयो ।

उहाँका अनुसार फोहोर व्यवस्थापनका लागि यस वर्ष बजेट छुट्याइएको छ । खानेपानी आपुर्तीका लागि खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत सर्वेक्षण भैसकेको छ । आगामी वर्ष ढल निकास र खानेपानी आयोजना सञ्चालन गरिने वडा अध्यक्ष बरुवालले बताउनुभयो । घर निर्माणका लागि सडकका लागि मापदण्ड पालना र अनिवार्य नक्सा पास गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।