कान्छिबाराही मन्दिर निर्माणका लागि सहयोग

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १३ चैत । Kanchi Barahai Lai Helpअन्नपूर्ण गाउँपालिका ५ शिखमा रहेको नागाजी कान्छि बाराही मन्दिरको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिख उपल्लो गाउँमा रहेको धार्मीक तथा पर्यटकीय महत्वको कान्छि बाहारीको पुरानो मन्दिर जिर्ण बनेपछि स्थानीयबासीको पहलमा पुननिर्माण गर्न लागिएको हो । हालसम्म मन्दिरको जग देखि गजुर रहेन ठाउँसम्म पिल्लर सहित पक्क पर्खाल बनाउने काम सकिएको छ ।

पलास्टर, रंग रोगन, घेराउको काम बाँकी छ । स्थानीयबासी, प्रवासी र गाउँपालीकाको सहयोगमा मन्दिर पुननिर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष हेमबहादुर पुर्जाले बताउनुभयो । पन्ध्र लाख रुपैया लागत अनुमान गरिएको मन्दिर पुननिर्माणका लागि गाउँपालीकाले चार लाख बिनियोजन गरेको छ ।

चन्दा संकलन र श्रमदान गरेर पुननिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सदस्य निलबहादुर पुर्जाले बताउनुभयो । मन्दिर पुननिर्माणका लागि बेलायतमा बसोबास गर्ने शिखवासीहरु आवद्ध शिखताली समाज युकेको पहलमा चार लाख रुपैया सहयोग प्राप्त भएको छ ।

समाजका सदस्य गमबहादुर बुद्धुजा पुनले हालै उक्त रकम निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको शिख मावीका प्रअ जगदिश आचार्यले जानकारी दिनुभयो । बाराहीका नौ महिनी मध्य नागाजी शिख बाराही कान्छि भएको धार्मीक मान्यता छ ।

पोखराको तालबाराही, पाउद्धारको खयरबाराही, नांगी बाराही, हिस्तानको प्याराबाराही लगायतका तालको दिदीबहीनीको सम्बन्ध रहेको स्थानीयबासीको भनाई छ । जनै पूर्णीमा पर्वमा बिशेष मेला लाग्ने कान्छि बाराहीको पुजाआजा, दर्शन र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।