कानुन सिक्दै म्याग्दीका जनप्रतिनिधि

विकल्प न्यूज/बेनी
चैत ११ गते । IMG_8607म्याग्दीका स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । नयाँ व्यवस्था र संरचना अनुसारको कानुन, ऐन, नियम र कार्यबिधिको बारेमा बुझाईमा एकरुपता कायम गरी विकास गतिबिधी र सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले जनप्रतीनिधिहरुको क्षमता विकासका लागि तालीम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिकाले पदाधिकारी, कार्यपालिका सदस्य र कर्मचारी, अन्नपूर्ण गाउँपालिकाले पदाधिकारी गाउँसभा सदस्यसंगै कर्मचारीहरुलाई एकै ठाउँमा राखेर तिनतिन दिनको तालीम प्रदान गरिसकेका छन् ।

रघुगंगा गाउँपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिका लागि गलेश्वरमा शुक्रबारदेखि तिन दिने तालीम सञ्चालन भएको छ । धौलागिरी गाउँपालिकाले सोमबारदेखि जनप्रतिनिधिहरुको क्षमता विकासको तालीम सञ्चालन गर्न लागेको जनाएको छ ।

स्थानीय तह सञ्चालन सम्बन्धि संबिधान, ऐन र कानुनले गरेका व्यवस्थाहरुको विषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण तालीम सञ्चालन गरिएको रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीबीच कानुनको विषयमा बुझाईमा एकरुपता नहुँदा काम गर्न कठिनाईका साथै कतिपय ठाउँमा अधिकार क्षेत्रको विषयमा द्धन्द्ध समेत सिर्जना भएको छ । अनुभव र कानुनी विषयमा पर्याप्त जानकारी नहुँदा जनप्रतिनिधिलाई काम गर्न अप्ठ्यारो र अलमल भएको छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले निती नियमको बारेमा स्पष्ट जानकारी नहुँदा अलमलीएका जनप्रतिनिधिलाई तालीम लिएपछि अन्यौलता हटेको, आफ्नो दायीत्व र अधिकारको बारेमा जानकारी भएकाले काम गर्न सहज हुने बताउनुभयो ।

तालीममा योजना तर्जुमा, कार्यान्वयन, स्थानीय तहले बनाउनुपर्ने ऐन नियम, आर्थिक वित्तिय प्रणाली, काम, कर्तब्य र अधिकारको बारेमा सिकाउने गरिएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको तालीममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक गजेन्द्र वाग्ले, गोकर्ण शर्मा, जिससका सूचना अधिकारी पदम भण्डारी लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ ।

यसै हप्ता ठूलोबगरमा सम्पन्न अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरुको तालीमको सहजिकरण रामबहादुर रावतले गर्नुभएको थियो । तालीममा सहभागी भएपछि जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वयको वातावरण, बुझाईमा एकरुपता र कार्यशैलीमा सुधार आउने अपेक्षा गरीएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।