मोहनचोक–मल्लाज सडक स्तरोन्नती सुरु

विकल्प न्यूज/जलजला
चैत १० गते ।milanchookजलजला गाउँपालिकाको मोहनचोक देखि मल्लाज जोड्ने सडक स्तारोन्नतीका लागि करिब एक करोड रुपैयाँको आयोजना सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किलोमिटर दुरीको सडक स्तारोन्नती गर्ने काम सुरु भएको हो । जलजला गाउँपालिकाले मोहनचोक देखि सडक फराकीलो र नाली बनाउने काम सुरु गरेको ४ नम्बर वडाका अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बिनियोजन गरेको छ । हाल साढे तिन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकीलो बनाउनुका साथै नाली समेत निर्माण गरीने वडा अध्यक्ष मल्लले बताउनुभयो ।

ग्यावियन र पक्कि पर्खाल निर्माणको काम समेत भैरहेको छ । उपभोक्ता समिति मार्फत दुई वटा प्याकेजमा सडक स्तारोन्नती आयोजना सञ्चालन भएको हो । करिब दुई दशकअघि ट्याक खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतको भरमा सञ्चालन हँुदै आएको थियो ।

यो आयोजनाबाट जलजला गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँटका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नविन जिसीले बताउनुभयो । यसैगरी जलजला गाउँपालिका ४ को पाल्सीङ देखि खोलाखेत जोड्ने एक किलोमिटर १०० मिटर सडकको ट्याक खोल्ने काम सकिएको छ ।

४ नम्बर वडाकै फड्केढुङ्गा पिडाल्ना हुदै लेकफाँट रातमाटा जोड्ने सडकको अरजेटको भिरमा ट्याक खन्ने काम भैरहेको छ । यो योजनाका लागि गाउँपालिकाले यस वर्ष ४५ लाख रुपैयाँ बिनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताउनुभयो ।

जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट बिनियोजन गरेका ३० वटा मध्य २९ वटा योजनाको सम्झौता भैसकेको जानकारी दिनुभयो । ८ र ९ नम्बर वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिदै उहाँले अन्य वडाका योजना समेत कार्यान्वनको चरणमा रहेका बताउनुभयो ।
असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि १२ करोड ९५ लाख ४५ हजार रुपैया बजेट बिनियोजन भएकोमा नौ महिनाको अवधिमा पुजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।