विकल्प न्यूज/बेनी
चैत ८ गते । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माविमा नयाँ भवन निर्माण भएको छ । सरकारी निकाय, विद्यालयको आन्तरिक स्रोत र समुदायको श्रमदान गरि ६४ लाख रुपैयाँको लागतमा तिन तले छ कोठे पक्की भवन निर्माण भएको विद्यालयका प्रअ याम गर्बुजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ३२ लाख, साविक झिँ गाविसले १० लाख र रघुगंगा गाउँपालिकाले पाँच लाख रुपैयाँ अनुदान उपलब्ध गराएका थिए । विद्यालयको आन्तरिक स्रोत र जनश्रमदान गरि सत्र लाख रुपैयाँ लगानी भएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २६० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको प्रअ गर्बुजाले बताउनुभयो । उक्त भवन भूकम्प प्रतिरोधी क्षमताको भएको उहाँले जानकारी दिनुभयो ।