स्थानीय तहलाई सहकारी हस्तान्तरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ चैत । 
IMG_8529डिभिजन सहकारी कार्यालय बागलुङले स्थानीय तहलाई सहकारी संघ, संस्था हस्तान्तरण सुरु गरेको छ । डिभिजनले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा पहिलो पटक म्याग्दीको रघुगंगा गाउँपालीकाका सहकारी संघ, संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको हो ।

सहकारी बिभागका उपसचिव आनन्द सारु र डिभिजन प्रमुख बिष्णुप्रसाद शर्माले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रजिअ कृष्णप्रसाद अधिकारी मार्फत रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईलाई सहकारी संस्थाको अभिलेख विवरण हस्तान्तरण गर्नुभयो ।

संघीयका कार्यान्वयनसंग बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रर्वद्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण सुरु गरिएको डिभिजन प्रमुख शर्माले बताउनुभयो ।
डिभिजन अन्तरगत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा एक हजार ६९ वटा सहकारी संस्था दर्ता भएकोमा म्याग्दीमा दुई सय बढी सहकारी रहेका छन् । रघुगंगाका २१ वटा सहकारी संस्था गाउँपालीकालाई हस्तान्तरण गरिएको हो ।

डिभिजनको आयोजनामा बेनीमा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुका लागि सहकारी सम्बन्धि ऐन, नियमको बारेमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्य स्थानीय तहमा पनी अभिमुखीकरण र हस्तान्तरणको तयारी भएको डिभिजनले जनाएको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केसीले स्थानीय तहले रोजगारी सिर्जना, आयआर्जन, गरिबी निवारण र सामाजिक परिवर्तनका लागि सहकारी संस्था परिचालनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रजिअ अधिकारीले संबिधानले दिएको अधिकारको प्रयोगका लागि स्थानीय तह सक्षम बन्न र क्षमत्ता विकास गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले संस्था हस्तान्तरणसंगै जनशक्तिको समेत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले स्थानीय तहले छिटो सहकारी सम्बन्धि ऐन निर्माण गर्नुपर्ने बताउनुभयो ।