सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ चैत । कोष तथा लेखा नियन्त्रकको बेनी स्थित कार्यालयका प्रमुखको कार्यकक्षमा शुक्रबार नेपाली काँग्रेसका कार्यकर्ताले तालाबन्दी गरेका छन् । कार्यालय प्रमुख हाँजीर गरेर नेकपा एमालेले आयोजना गरेको जनप्रतिनिधिको क्षमता अभिवृद्धि तालीममा प्रशिक्षकको रुपमा सहभागी हुन गएको भन्दै अपराहन्न काँग्रेसका जिल्ला सचिव मिनबहादुर कार्कीको नेतृत्वमा कार्यालयमा पुगेका कार्यकर्ताहरुले तालाबन्दि गरेका हुन् ।
नेपाली काँग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत रकालले कार्यालयमा हाँजीर गरेर सेवाग्राहीको काम छाडी पार्टीको कार्यक्रममा सहभागी हुन गएका बेल्वासेलाई टेलीफोन र प्रमुख जिल्ला अधिकारी मार्फत कार्यकक्षमा बोलाएपनि अटेर गरेकाले बाध्य भएर तालाबन्दि गर्नुपरेको बताउनुभयो ।
यता नेकपा एमालेले भने स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि कार्यक्रममा विषय विज्ञताको हिसावले कोलेनीका प्रमुखलाई प्रशिक्षकका रुपमा बोलाइएको जनाएको छ । स्थानीय तहको वित्तीय व्यवस्थापन बिषयमा विषयविज्ञका रुपमा कोलेनिका प्रमुखलाई जनप्रतिनिधिकै आग्रहमा बोलाइएको एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।