कसरी भयो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?

विकल्प न्यूज/बेनी
चैत २ गते । Nccb

 कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एनसीसी बैंक (NCCB) मा छापामारी दर्जन बढी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सीआइबीले पक्राउ गरेका व्यक्ति र उनीहरुको पद भने खुलाएको छैन ।

राष्ट्र बैंकको उजुरीको आधारमा एनसीसीका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ । एनसीसीले एपेक्ससहितका ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका हुन् ।

मर्जर भएपनि अदालदको आदेश अनुसार एनसीसीमा गाभिएको एपेक्सको कारोबार विवरण छुट्टै राखिदै आएको थियो । एपेक्सको कारोबार शंकास्पद देखिएपछि अलग्गै हिसाबकिताब राख्न अदालतले आदेश दिएको थियो ।

राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो।

एपेक्सका कर्मचारीहरुले नक्कली पूर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको पाइएको छ । खोला र बगरको जग्गा समेत धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।

उक्त रकममध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो त्यसै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका १३ जनालाई पक्राउ गरिसकेको छ।

मर्जर सम्झौताका क्रममा  एक करोडमाथिको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति भएपनि सो विपिरत एपेक्सले कर्जा लगानी गरेको थियो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो । राष्ट्र बैंकले सीआइबीलाई पत्राचार गरी कर्जा दुरुपयोगमा संंलग्नलाई बैंकिङ कसूरमा मुद्दा चलाउन भनेको थियो । merolagani.com