झिँ का महिलाहरु भाङग्रा बुन्दै

विकल्प न्यूज/बेनी
चैत १ गते । Jhi Bhangra Bunai Talimम्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा मगर समुदायको परम्परागत पोषाक भाङ्गा बुनाई तालीम सम्पन्न भएको छ । भाङ्ग्राको संरक्षण र आयआर्जनको अवसर सिर्जनाका लागि झिँका महिलाहरुलाई सहभागी बनाएर सीपमुलक तालीम सञ्चालन गरिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा झिँमा गठन भएको वडा स्तरीय महिला सञ्जालले तालीम सञ्चालन गरेको हो ।

फागुन १ गतेदेखि सुरु भई २५ गते सम्म सञ्चालीत तालीममा १८ जना महिलाहरु सहभागी भएका थिए । दुई जना प्रशिक्षकले भाङ्ग्रा बुन्ने आधारभुत सीप प्रदान गरेका छन् । मगर समुदायका पुरुषहरुले जातीय पहिरनको रुपमा भाङ्ग्रा लगाउने गर्छन् ।

नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि तालीम सञ्चालन गरिएको प्रशिक्षक बिष्णु थजालीले बताउनुभयो । तालीम सञ्चालन गर्न रघुगंगा गाउँपालिकाले एक लाख पचास हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

उक्त बजेटबाट धागो खरिद, प्रशिक्षकको शूल्कको व्यवस्थापन गरिएको छ । सहभागीले आफैले तान खोजेर तालीममा सहभागी भएको बताएका छन् । एक जनालाई कम्तीमा १५ दिन लाग्ने भाङग्रा प्रतिगोटा चार हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

सगर समुदायका पुरुषहरुले सभा, समारोह, चाडपर्व, सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा भाङ्ग्रामा सजिने गरेका छन् । भाङ्गा लोप हुन नदिनका लागि तालीम सहयोगी बन्ने सहभागीले बताएका छन् । फुर्सदको समयमा भाङ्गा बुनेर बिक्री गरी आम्दानी गर्न सक्ने सम्भावना पनी रहेको छ ।