सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशन शनिबार सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले जिल्लाको उच्च शिक्षाको अग्रणी संस्था म्याग्दी क्याम्पसको स्तरउन्नतीसंगै शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालन र उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सञ्चालक समितिका कोषाध्यक्ष सोमनाथ ढुङ्गानाले गत आर्थिक वर्षको आर्थिक र क्याम्पस प्रमुख सापकोटाले शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वि.स २०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थान संकायमा दश जोड दुई र स्नातक तहको पठनपाठन सञ्चालन हुदै आएकोमा बिहीबारदेखि व्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन सुरु गरेको छ ।
क्याम्पसमा म्याग्दी, पर्वत, मुस्ताङ लगायत जिल्लाका एक हजार जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्राबिधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्ने र क्युएए प्रणालीमा जाने योजना बनाइएको छ । अधिवेशनबाट क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।