विकल्प न्यूज/बेनी
फागुन २४ गते । फाइल तस्विर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् । छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रसोधन गरेर पाउडर उत्पादन गरी आम्दानी गर्न थालेका हुन् । जंगलमा खेर गैरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार दश जना युवाहरुले छ लाख पचास हजार रुपैयाँको लगानीमा चार महिनाअघि स्थापना भएको उद्योगबाट १५० किलोग्राम भन्दा बढी पाउडर उत्पादन र बिक्री भएको छ । बेनी, पोखरा र काठमाडौका होटल तथा गाउँमा आउने पाहुनाहरुलाई प्रतिकिलोग्राम चार सय रुपैयाँका दरले पाउडर बिक्री गरिएको पुनले बताउनुभयो । बजारमा पु¥याउँदा मूल्यमा ढुवानी खर्च थपीन्छ ।
उद्योग सञ्चालन भएपछि गाउँ नजिकैको पाखो, खेतबारीका कान्ला, खोल्सामा खेर गैरहेको सिस्नोको मुना टिपेर स्थानीयले आम्दानी गर्न थालेका छन् । सिस्नोको कलिलो मुनालाई टिपेर घाममा सुकाई मिलमा पिसेर बनाइने पाउडरलाई प्याकेजीङ गरेर बजारमा पठाउने गरिन्छ । उद्योग सञ्चालनका लागि समूहले जग्गा भाडामा लिएको छ ।
जिल्ला युवा समितिको कार्यालयले समूहलाई उद्योग स्थापनाका लागि पाँच लाख रुपैयाँ निब्यार्जी रकम उपलब्ध गराएको छ । पहिलो किस्ता वापत दुई लाख पचास हजार उपलब्ध गराइएको र दोस्रो किस्ता निकासाको तयारीमा रहेको समितिका अध्यक्ष देवीप्रसाद शर्माले बताउनुभयो ।
यस वर्षपनि युवाले सञ्चालन गरेको उद्योग, व्यवसायलाई सहयोग गर्ने कार्यक्रम रहेकाले प्रस्ताव माग गरिएको छ । नियमित रुपमा सिस्नो पाउडर उत्पादनका लागि सोलार डायर राख्ने योजना रहेको अध्यक्ष पुनले बताउनुभयो ।
कुनै समय गरिबको खानाको रुपमा चिनिएको सिस्नो पछिल्लो समय सहर बजारका धनाढ्य वर्गका मानिसहरुको भान्छाको परिकार बन्न थालेको छ । स्वास्थ्यवद्र्धक र औषधिको रुपमा सिस्नोको पाउडरलाई सुप बनाएर उपयोग गरिन्छ । पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले सिस्नोको माग बढेको छ ।