बाँसबोटमा पशुपंक्षी फार्म स्थापना

विकल्प न्यूज/बेनी
फागुन २४ गते ।  Baradan Kirsi Farmबेनी नगरपालिका ६ बाँसबोटमा एक कृषकले अठार लाख रुपैयाँको लगानीमा पशुपंक्षी फार्म स्थापना गर्नुभएको छ । परम्परागत रुपमा गाईभैसी पालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यवसायिक बनाउन बरदान पशुपंक्षी फार्म स्थापना गर्नुभएको हो । फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैसी र राँगो खरिद गर्न अठार लाख रुपैयाँ लगानी भएको पौडेलले बताउनुभयो ।

वि.स २०५२ देखि परम्परागत रुपमा गाईभंैसी पालेर दूध बेच्दै आउनुभएका पौडेलले पशुपालन पेशालाई व्यवस्थित र व्यवसायिक बनाउन फार्मको स्थापना गरेको बताउनुभयो । उक्त फार्ममा हाल दश वटा मुर्रा जातको भैसी, एक वटा जर्सी गाई र एक वटा राँगो रहेको छ । तिन जनाले पूर्ण रुपमा रोजगारी पाएका छन् । दैनिक एक सय लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रति लिटर ७० रुपैयाँका दरले दूध बिक्री हुने गरेको छ । उहाँले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोड्न सफल हुनुभएको छ । चार जना छोराछोरीको पढाई र घरब्यवहार चलाउने आम्दानीको स्रोत दूधनै बनेको छ ।

दुई वटाबाट भैसीपालन सुरु गरेका कृषक पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म सहयोगीको रुपमा काम गर्नुभएको थियो । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैसीपालन विस्तारका साथै भैसी खरिद बिक्री सुरु गर्नुभएको थियो । उहाँले दूधका साथै भैसीको पनि खरिद बिक्री गर्दै आउनुभएको छ । उहाँहरुलाई जिल्ला पशु सेवा कार्यालयले व्यवसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम दिएको छ । हिउँदमा पर्याप्त घाँस र बजारमा दूध खपत कम हुँदा समस्या परेको पौडेलले बताउनुभयो ।