सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ फागुन ।
स्थानीय तह कार्यान्वयन भएको एक वर्षपछि रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालन भएको छ । केन्द्र विवादका कारण स्थापनाकालदेखिनै सदरमुकाम बेनीबाट सञ्चालन हुदै आएको कार्यालय फागुन दोस्रो हप्तादेखि मौवाफाँटबाट सञ्चालन गरेको हो । मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरीएको गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । गाउँपालीकाको प्रशासनीक लगायत सबै गतिबिधि मौवाफाटबाट सञ्चालन हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार, गाउँपालिकाले भवन निर्माणका लागि मौवाफाँट क्षेत्रमा जग्गा खोजीलाई तीब्र बनाएको छ । आगामी आर्थिक बर्षबाट भवन निर्माण गर्ने योजनाका साथ आवश्यक जग्गा खोजी र खरिद प्रक्रियालाई छलफल भइरहेको छ ।
गाउँपालिका घोषणा हुँदा अस्थायी केन्द्र पाखापानी तोकिएपछि पिप्ले, भगवति र बेगखोलका सर्वसाधारणले लामो समय आन्दोलन गरेका थिए । गाउँपालीकाका दुई तिहाई जनप्रतिनिधिको मतका आधारमा पाखापानीबाट मौवाफाँट केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको थियो ।
अध्यक्ष भण्डारीले पाखापानी, झि र कुइनेखानीका सर्वसाधारणलाई अधिकतम सहज हुने गरि कार्यसम्पादन गरिरहेको बताउनुभयो । ‘मौवाफाँटलाई झि, पाखापानी र कुईने क्षेत्रका सर्वसाधारणसँग जोड्ने योजना बनाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘मूख्य भनेको सडक निर्माण हो, त्यसमा हामी गृहकार्य गरिरहेका छौँ ।’