म्याग्दीका बैंकहरु घरदैलोमा पुगेर निक्षेप संकलन गर्दै

घनश्याम खड्का / विकल्प न्यूज
फागुन १८ गते ।garima bikash bank जिल्लाका शाखा प्रबन्धकहरू निक्षेप संकलनका लागि घरदैलो गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न थालेका हुन् ।

म्याग्दीमा १४ वाणिज्य बैंक र ४ विकास बैंकहरू छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यही अवधिमा कर्जा लगानी भने ३ अर्ब २८ करोड २० लाख रुपैयाँ भएको छ । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् ।
केही बैंकहरूको त उल्टो निक्षेप ऋणात्मक छ । राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा १५ करोड रुपैयाँ निक्षेप रहेकोमा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर १२ करोड ९५ लाखमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । ‘निक्षेप संकलनमा टार्गेट मेन्टेन गर्न बैंकका शाखा प्रबन्धकहरू सहकारीका बजार प्रतिनिधिभन्दा धेरै दौडधुपमा छन्,’ गण्डकी विकास बैंकका शाखा प्रबन्धक कुमार ढुंगानाले भने, ‘नयाँ विकास बैंकलाई मात्र होइन पुराना र ठूला वाणिज्य बैंकलाई समेत निक्षेप संकट छ ।’
बैंकर्सहरूका अनुसार विप्रेषणमा आश्रित बन्दै गएको जिल्लाको अर्थतन्त्रमा रेमिटेन्स घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको हो । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । बैंकहरूले पुस मसान्तसम्म गरेको कर्जा अनुत्पादक क्षेत्रमा भएको देखिएको छ । जिल्लामा रहेका सबै बैंकहरूको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् ।
कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फर्म नगन्य संख्यामा छन् । ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षाविपरीत सरकारी बजेट कम भयो । रेमिटेन्सबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो,’ सिद्धार्थ बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भने, ‘जिल्लामा वित्तीय साक्षरता पनि न्यून छ ।
सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।’
जिल्लामा भित्रिने रेमिटेन्समध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पुँजी पलायन भएकाले बैंकहरूमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् । प्रभु बैंककी शाखा प्रबन्धक लालकुमारीखडकाले भनिन्, ‘पुस मसान्तसम्मको अवस्था हेर्ने हो भने प्रभुमा पनि निक्षेप संकलनभन्दा कर्जा प्रवाह चार करोड रुपैयाँ बढी छ ।’ kantipurdaily.com