देविस्थानमा दलित अधिकारसम्बन्धि बहस

विकल्प न्यूज/बेनी
फागुन ११ गते । devisthan vdcम्याग्दी मालिका–५ देविस्थानमा दलित हकअधिकार तथा सशक्तिकरणसम्बन्धी दुईदिने तालिम सुरु भएको छ । नयाँ संविधानमा दलितसँग सम्बन्धित हकअधिकारका विषयमा ग्रामिणस्तरसम्म जनचेतना जगाउने उद्देश्यले मालिका गाउँपालिकाको सहयोग तथा दलित वर्ग उत्थान वडा समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तालिम सुरु भएको हो ।
दलित वर्ग उत्थान समन्वय समिति देविस्थानका अध्यक्ष धनबहादुर विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले गाउँ समाज र क्षेत्रको विकासका लागि सबै बर्गको सामूहिक उत्थान आवश्यक रहेको बताए ।
गाउँपालिकाले न्यायोचित विकास र क्षमता अभिवृद्धिका लागि सबै तहमा कार्यक्रम सञ्चालन गर्न बजेट विनीयोजन गरिएको उनले जानकारी दिए ।
दलित वर्ग उत्थान समन्वय समितिका पूर्व सचिब नरबहादुर विश्वकर्माले स्वागत गरेको कार्यक्रममा गाउँपालिका उपप्रमुख खरमायाँ विटालु, वडा नं–५ की अध्यक्ष पिपला बुढाथोकी, एमालेका वडा सभापति तुलबहादुर घर्ती, नेपाली काँग्रेस वडा सभापति क्याप्टेन अमलाल फगामी लगायतका बक्ताहरुले दतिल अधिकार त्यसको प्रयोगका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
दलित अधिकारसम्बन्धि विविध विषयमा छलफल हुने कार्यक्रममा मानव अधिकारकर्मी मुक्ति ढुँगाना र दलित अधिकारकर्मी मनबहादुर चर्माकारले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
देविस्थानका विभिन्न बस्तीका ८० जना दलित अगुवाहरुको सहभागिता रहेको अभिमूखीकरण कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिब सन्दीप विश्वकर्माले गरेका थिए ।