म्याग्दीमा डढेलोबाट वन जोगाउनै मुस्किल

घनश्याम खड्का/विकल्प न्यूज
फागुन ३ गते । AAgologi

फाइल तस्विर

लामो खडेरीसँगै यहाँका सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्न थालेको छ । माघ तेस्रो सातासम्म जिल्लाका दर्जन हाराहारी सामुदायिक वन हिमाली चरन डढेलोले खाइसकेको छ ।

सदरमुकामको वन कार्यालयसँग सीमा जोडिएको वराहपाखो सामुदायिक वनमा त यो साता मात्रै दुईपटक डढेलो फैलिएको थियो । वराहपाखो सामुदायिक वन जिल्लामा वर्षेनी सबैभन्दा बढी डढेलो लागिरहने र त्यसको जानकारी दिनेलाई सुराकी भत्ता दिने नियम वन समूह हो । तर, डढेलो कसले लगाएको हो भन्ने कहिल्यै पत्ता लाग्दैन ।
वन कार्यालयले वर्षेनी वन डढेलो नियन्त्रण गर्न विभिन्न शीर्षकमा लाखौं खर्च गर्ने गरेको छ । वन डढेलोविरुद्ध प्रचारप्रसार गर्न ५५ हजार, डढेलो नियन्त्रण कार्यक्रम गर्न सामुदायिक वनलाई ३५ हजार ८ सय २६, अग्नि नियन्त्रणमा प्रभावकारी काम गर्ने वन समूहलाई पुरस्कार ५५ हजार, डढेलो नियन्त्रणमा खटिनेहरूलाई खाजापानी खर्च ३ लाख ५० हजार खर्च वर्षेनी हुन्छ । डढेलो लगाउनेविरुद्ध मासिक ५ हजारका दरले भत्ता पाउने गरी तीनजना सुराकी परिचालन गर्ने गरिएको छ । तजबिजमा सुराकी परिचालन गरिने गरिएको वन कार्यालयले जनाएको छ । यो रकम दुरुपयोगको आशंका छ ।
‘यो डढेलोको सिजन होइन तर खडेरीले गर्दा वनमा डढेलोको खबर आउन थालेको छ,’ सहायक वन अधिकृत राजकुमार ठाकुरले भने, ‘सामुदायिक वनमा अलि कम छ, राष्ट्रिय वन जोगाउन मुस्किल छ ।’
माघको पहिलो र दोस्रो साता धौलागिरी गाउँपालिकाको मुदी, मंगला गाउँपालिकाको पूर्णगाउँ र बेनी नगरपालिकाको डढुवा क्षेत्रमा डढेलो लागेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत भुरुङ, दाना, नारच्याङ, पाउद्वार र घार क्षेत्रका संरक्षित क्षेत्रमा डढेको लागेको छ । तल्लो क्षेत्रका सामुदायिक वनमा मात्र होइन बाक्लो हिउँले सेताम्मे छोप्नुपर्ने बस्तीदेखि माथिका हिमाली चरन क्षेत्रमा पनि दैनिक डढेलो लाग्ने गरेको छ । चैत, वैशाख र जेठ महिनामा बढी वन डढेलो लाग्ने मानिन्छ । तर, हिउँदमा हिउँ र पानी नपर्दा सुख्खा बढेकाले यसपटक माघमै डढेलो बढेको हो ।
जिल्ला वन कार्यालयको अभिलेखअनुसार आव २०७१/७२ मा ३ सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लाग्यो भने गत वर्ष १ सय ९६ हेक्टर वनजंगल आगोले नष्ट गरेको थियो । राष्ट्रिय वनमा वन्यजन्तु सिकारीले डढेलो लगाउने गरेका छन् । सामुदायिक वनमा कृषक, बालबालिकाले आगोजन्य वस्तु असावधानीले चलाउँदा डढेलो लाग्ने गरेको छ ।
वन कार्यालयका अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।
वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टरको वनमध्ये २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब ५ हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।
‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन,’ सहायक वन अधिकृत ठाकुरले भने, ‘वन डढेलोको राम्रो अभिलेख पनि हामीसँग छैन । कर्मचारी त सबै इलाकामा खटाएका छौं तर, सूचना ढिला आउँछन् ।’ बस्तीभन्दा धेरै माथि राष्ट्रिय वन भएकाले पनि आगो नियन्त्रणमा चुनौती रहेको उनले बताए ।
वन डढेलोमध्ये सबैभन्दा ठूलो २०५० वैशाख १ देखि एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दीपट्टि लुलाङ र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झन्डै आठ सय हेक्टर वन नष्ट गरेकाले उक्त क्षेत्रमा अझै पनि सुकेका रूखहरू मात्र देख्न पाइन्छ । नयाँ बिरुवा उम्रेका छैनन् ।
यही सुकेको जंगलमा २०६९ जेठमा पुन: भीषण डढेलो लाग्यो । १५ दिनसम्म लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन हुने प्रयास भए पनि दुर्गम पहाडी इलाकामा ठूलो क्षेत्रफलमा फैलिएकाले सफल भएन । यो डढेलो आकाशे झरी लागेपछि आफैं नियन्त्रणमा आएको थियो । त्यसैगरी २०४५ सालमा मुस्ताङबाट हावाहुरीले ल्याएको आगोको लप्काले लालिगुराँसको घना जंगलअन्तर्गत पर्ने म्याग्दीको शिख, हिस्तान, राम्चे र पर्वतको भुकदेउराली गाविसको ठूलो क्षेत्रफल वनमा डढेलो लागेको थियो ।
हिमालका फेदीका बुक्यान र तल्लो क्षेत्रका सामुदायिक जंगलमा डढेलो लगाइँदा फिरन्तेरूपमा पालिँदै आएका चौंरी र भेडालाई चरन समस्या भएको छ । जाडो छल्न बेंसी झरेका भेडा गोठलाई चरन क्षेत्रमा डढेलो लागेपछि चरन समस्या परेको ह । बेंसीका सामुदायिक वनमा मात्र होइन हिमालमुनिका राष्ट्रिय वन तथा चरन क्षेत्रमा चोर शिकारीले चरन क्षेत्रका ठूला बुक्यानहरूमा आगो लगाउँदा वन्यजन्तु तथा चराचुरुंगीको बासस्थानसमेत संकटमा परेका हुन् ।
बेंसी झरेका फिरन्ते भेडा, चौंरी र गाईगोठ माघ तेस्रो सातादेखि विस्तारै माथिल्लो क्षेत्र उक्लने समय हो । हिउँले छोपेको घाँस पग्लँदै जाने भएकाले फिरन्ते पशुहरूले सोही घाँस खाने गर्छन् । फिरन्ते भेडाको चरन क्षेत्रमा डढेलो लागेपछि समस्या भएको छ । भेडाले चर्ने पुरानो घाँस डढेको र पलाउने समय नभएकाले चरनमा समस्या भएको हो ।
चट्याङजस्ता प्राकृतिक प्रकोपबाट लाग्ने प्राकृतिक, सिकार गर्न वा राम्रो घाँस उम्रने लोभमा लगाइने र मानवीय असावधानीबाट फैलने आगो आकस्मिक, वन अपराध लुकाउन, वनपैदावरको लोभमा जानीजानी र संरक्षित क्षेत्रका वन्यजन्तु तथा वनलाई जोगाउन नियन्त्रित वनमा डढेलो लाग्छ । वन डढेलो लाग्ने विभिन्न कारणमध्ये मौसम प्रमुख कारण हो । लामो खडेरीले वायुमण्डलको आद्र्रता सुष्क हुँदा सानो आगोको झिल्कोले पनि डढेलो वा आगलागी हुन्छ । जति सुख्खा भयो त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ । kantipur