प्रदेश ४ : सभामुखमा नेत्रनाथ निर्विरोध, पर्सि मुख्यमन्त्रीसँगै सपथ

२ फागुन, पोखरा ।

Netra-Nath-Adhikariप्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो । मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।

अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ रहेका छन् । कांग्रेसले जित हासिल नगर्ने भएकाले सभामुखमा मनोनयन दर्ता नराएको सांसद कृष्णचन्द्र नेपालीले जानकारी दिए ।

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई सभामुख दिने गरी भागबन्डा गरिएको थियो । माओवादीको संसदीय बैठकले अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको थियो । बिहीबार नै प्रक्रियाअनुसार सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नेछन् ।

सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । माओवादीले पुरुष सभामुख बनाएपछि अब उपसभामुख एमालेबाट महिलाले अवसर पाउने छन् । उपसभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ । त्यस्तै मित्रकुमारी सुवेदी, नरमाया गुरुङ लगायतले पनि आकांक्षा देखाएका छन् ।

सभामुख र मुख्यमन्त्रीको सपथ सँगै

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सपथ लिने कार्यसूची थियो । तर, सुब्बाका काकीको निधन भएपछि २ दिन पछाडि सरेको हो । बुधबार दिउँसो २ बजेलाई शपथको कार्यक्रम राखिएकोमा गुरुङकी काकी आमा ८२ वर्षीया रतनकुमारी गुरुङको मंगलबार बिहान निधन भएपछि शुक्रबारका लागि सारिएको हो ।

बिहीबार सभामुख चुनिने भएपछि शुक्रबार सभामुख र मुख्यमन्त्रीको सँगै सपथ हुने प्रदेश सभा सचिवालयले जानकारी दिए । शुक्रबार बिहान साढे ९ बजे शपथको कार्यक्रम राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । onlinekhabar.com