विकल्प न्यूज/जलजला
पर्वत,माघ १० गते । पर्वत, म्याग्दी र कास्कीको सिमा क्षेत्रमा पर्ने जलजलाको लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । पर्वतको जलजला र मोदी, म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय, धार्मीक र जैविक बिबिधताका हिसाबले प्रशस्त सम्भावना बोकेको जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा परेको छ ।
पर्वतको जलजला गाउँपालिकाले ऐतिहाँसीक, धार्मीक, पर्यटकीय र जैवीक बिबिधताको खोज अनुसन्धान गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिनुभयो ।अध्यक्ष मल्ल, उपाध्यक्ष सिमा गर्बुजा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको टोलीले यसै हप्ता जलजलाको स्थलगत अध्ययनका साथै मोदी र अन्नपूर्ण गाउँपालिकाका पदाधीकारीहरुसंग छलफल गरेको छ । जलजलाको पर्यटन विकासका लागि गुरुयोजना तयार पार्न लागीएको कार्यपालीकाका प्रबक्ता रवी भण्डारीले बताउनुभयो ।
हिन्दु धर्मावलम्बीहरुको धार्मीक ग्रन्थ रामायणमा कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको जलजला क्षेत्रको धेरै भुभाग जलजला गाउँपालिकाको ५ लेकफाँट र ६ शालीजामा फैलीएको छ । समुन्द्रि सतहदेखि तिन हजार ३०९ मिटरको उचाईमा अवस्थित जलजलाबाट हिमशृङखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
पर्वत जिल्लाको सबै भन्दा उच्च स्थालमा रहेको जलजलाबाट स्थानीय तह पुनसंरचनाका क्रममा गाउँपालिकाको नामाकरण भएको । धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ ।
लालीगुराँसको जंगल रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट रहेको छ । त्यहाँ बाँध बाँधेर तलाउ बनाउन सकेमा जलजलालाई थप आकर्षक स्थल बनाउन सकिने गाउँपालीकाका सल्लाहकार यम शर्माले बताउनुभयो । हनुमानले यही क्षेत्रबाट जडिुवटी लगेर औषधि उपचारमा प्रयोग गरेको धार्मीक ग्रन्थ रामणयमा उल्लेख छ ।
निरमसी, पाँचऔलो सतुवा लगायत बहुमूल्य जडिवुटीहरु प्रशस्त पाईने जलजला क्षेत्रको जंगलमा मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालीज लगायत पशुपंक्षीको बसोबास रहेको छ । मातातिर्थ औसीका दिन दिवंगत बुवा आमाको श्राद्ध गर्न जलजलामा जाने चलन रहेको छ । पुजाआजाका लागि शंकर भगवानको मन्दिर बनाइएको छ ।
पदमार्ग, खाने बस्ने होटल तथा लजको अभावका साथै जलजलाको धार्मीक, पर्यटकीय र जैविक बिबिधताको सम्भावनाको अनुसन्धान, संरक्षण तथा प्रर्वद्धनको काम हुन सकेको छैन् ।
जलजलामा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउन सकेमा गाउँपालीकाको विकासमा कोशेढुङ्गा बन्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतमले बताउनुभयो । गाउँपालिकाको आयस्रोतका साथै स्थानीयबासीको सामाजिक, आर्थिक विकासमा सहयोग पुग्ने उहाँको भनाई छ । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नांगी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै पुग्न सकिन्छ ।