घान्द्रुक–घोडेपानीमा ६३ हजार पर्यटक

विकल्प न्यूज/बेनी
माघ ९ गते ।gorepani photo 7सन २०१७ मा साढे त्रिसठ्ठी हजार जना बाह्य पर्यटकले म्याग्दीको घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ईलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन २०१७ मा बिरेठाटी हुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ ।

सन २०१७ को जनवरी देखि डिसेम्बर महिनासम्म बिरेठाँटी हुदै घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प क्षेत्रको भ्रमणका लागि ६३ हजार ५३७ जना बाह्य पर्यटक भित्रीएको कार्यालयका प्रमुख संरक्षण अधिकृत बिदुरबिक्रम कुईकेलले जानकारी दिनुभयो ।

बिरेठाँटी यो क्षेत्रमा पर्यटक भित्र्ने मुख्य नाका हो । कार्यालयका अनुसार बिरेठाँटी चेकपोष्टबाट सन २०१६ मा ४७ हजार २७४ बाह्य पर्यटक भित्रीएका थिए । सन २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए ।

बिरेठाँटी, शिख र छोमरोङ चेकपोष्ट मार्फत घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरण सहितको तथ्याङ्क राख्ने गरिन्छ । अक्टोबरमा सबैभन्दा धेरै १० हजार ९९८ र जुनमा सबैभन्दा कम एक हजार ६२२ जना पर्यटक भित्रीएका थिए ।

देशको अवस्था शान्तिपूर्ण हुन, प्राकृतिक विपद्का घटना नभएको, सुबिधासम्पन्न होटल खुल्न थाल्नु, सञ्चार सुबिधाको विस्तार, पूर्वाधारको विकास र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार भएकाले पर्यटक आगमन बढेको अधिकृत कुईकेलले बताउनुभयो ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुस लगायत पर्यटकीय क्षेत्रलाई समेटेको अन्नपूर्ण सेञ्चुरी पदमार्गमा पर्यटक आगमन बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरादेखि नजिक पर्ने भएकाले छोटो समयको पदयात्रा गर्ने पर्यटकको लागि आकर्षक गन्तब्य मानिन्छ ।

दश देखि १४ दिनमा पुरा गर्न सकिने अन्नपूर्ण सेञ्चुरी पदमार्गको मुख्य गन्तब्य पुनहिल, घान्द्रुक, एबिसी क्याम्प, घम्पुस र मार्दी हिमाल हो । बिरेठाँटीबाट भित्रीएका आधा जसो पर्यटक छोमरोङ हुदै एबिसी क्याम्प पुग्ने गरेका छन् । सन २०७१ मा छोमरोङ हुदै ३१ ह्जार ६८९ जना पर्यटक एबिसीतर्फ गएको तथ्याङ्क छ ।

छोमरोमङमा सन २०१६ को अप्रिल महिनामा पर्यटक चेक पोष्ट स्थापना भएको थियो । मगर, गुरुङ बस्ती, उनिहरुको कला, संस्कृती जिवनशैली, हिमशृङखला, सुर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य बिशेषता हो ।

घान्द्रुक घोडेपानी क्षेत्रमा चिनीया, फ्रेन्च, कोरीयन र मलेसीयन पर्यटक बढी मात्रामा आउने गरेका छन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटीएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति दुई सय र अन्य मुलुककाले प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सरकारलाई शूल्क तिर्नुपर्छ ।