बाँसखर्कको सुन्तला बजार पठाउन सुरु

विकल्प न्यूज/जलजला
माघ ९ गते ।baskharka-orange-1 पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषकले सिजन सकिनै लाग्दा सुन्तला बजार पठाउन थालेका छन् । बढी मूल्य पार्नका लागि पुष सम्म बोटमै सुन्तला राखेका बाँसखर्कका कृषकले माघ सुरु भएलगत्तै सुन्तला टिपेर बजार पठाउन थालेका हुन् । गाउँकै युवाहरुले सुन्तला खरिद गरेर पोखरा, काठमाडौ, भैरहवा, बुटवल, नारायणघाट, बिरगञ्जको बजारमा पठाउन थालेका छन् ।
प्रतिकिलो एक सय देखि एकसय १० रुपैयाँ सम्ममा गाउँबाटै सुन्तला बिक्री हुन थालेको छ । कच्चि सडकमा महँगो ढुवानी खर्च गरेर बजार पु¥याउँदा मूल्य नपाउने भएकाले अन्तको सुन्तला सकिएपछि बाँसखर्कको सुन्तला बजार पु¥याउने गरिएको कृषक तथा ब्यापारी शिव खत्रीले बताउनुभयो ।

बाँसखर्कको मुख्य आयस्रोत सुन्तला खेती हो । बाँसखर्कका दुइसय घरधुरी भन्दा बढीले ब्यवसायीक सुन्तला खेती गरेका छन् । उनिहरुले धान, गहुँ, कोदो, मकैको विकल्पमा खेतबारीमा सुन्तला खेती गरेका हुन् । अन्नबालीको तुलनामा सुन्तला खेतीबाट पाँच गुणा बढी आम्दानी हुने कृषकले बताएका छन् । baskharka-orange-5बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेँलपुर देखिने गरेको छ । नयाँ बोट थपिएपनी सिँचाईको असुबिधाका कारण पुराना बोटमा यसपाली कम दाना लागेको कृषक जगतबहादुर खत्रीले बताउनुभयो ।

बाँसखर्कबाट वार्षिक दुई करोड रुपैयाँ भन्दा बढी मूल्यको सुन्तला निकासी हुने गरेको छ । एक जना कृषकले एक लाख देखि दश लाख रुपैया सम्म आम्दानी गर्छन् । हालै पोखरामा भएको पश्चिमाञ्चलका विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा बाँसखर्कका सुन्तला उत्कृष्ट ठहरिएको थियो । baskharka-orange-4अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ । उपयुक्त भू–बनोट, उत्तरी मोहडा फर्किएको क्षेत्र, बगैँचा सुधार, पर्याप्त मल र सिँचाइको व्यवस्थाका कारण बाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकले बताएका छन् । baskharka-orange-3बाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठूलो हुने गरेको छ । सुन्तलाको गुणस्तर र उत्पादन वृद्धीका लागि सिचाईको सहज सुबिधा आवश्यकता रहेको कृषक नरबहादुर खत्रीले बताउनुभयो । म्याग्दीको महभिर स्थित पुम्दी खोलाबाट साढे चार किलोमिटर दुरीमा पाईप मार्फत पानी ल्याउन सकेमा सुन्तला खेती गरेका बाँसखर्कका कृषकलाई सुबिधा पुग्ने उहाँको भनाई छ ।