सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ माघ । IMG_4823म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले उत्तरदायीत्व, पारदर्शीता र सुशासनका लागि सूचनाको हकको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले ऐनमा भएका व्यवस्थाहरुको बारेमा बुझाईमा एकरुपता कायम गरि छोटो प्रक्रियामा सहज रुपमा सूचना प्रवाह गर्नु सार्वजनीक सरोकारका निकायहरुको दायीत्व भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी कार्यालय प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुले एक दशकअघि जारी भएको सूचनाको हक सम्बन्धि ऐनको कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्दै कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् ।

सरकारी कार्यालय मात्र नभएर गैरसरकारी संघ संस्था, राजनितिक दल लगायत सार्वजनीक सरोकारका सबै ठाउँमा आम नागरीकले सहज रुपमा सूचना माग्ने र प्रवाह गर्ने वातावरण बनाउनुपर्ने सहभागीको भनाई थियो ।

सरकारी निकायमा जनशक्ति, बजेट, तालीम तथा समन्वयको अभाव, आम नागरीकमा सूचनाको हक सम्बन्धि व्यवस्थाको जानकारी नहुदाँ कार्यान्वयन पक्ष फितलो भएको बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सूचनाको हकको बारेमा जानकारी गराउनुभएको थियो । शाखाका सचिव गोरखनाथ सुवेदीको सञ्चालन र कोषाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।