सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ पुष ।
म्याग्दीलाई आगामी माघ ८ गते बिशेष समारोहका बिच साक्षर जिल्ला घोषणा गरिने भएको छ । म्याग्दीमा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
बुधबार जिल्ला शिक्षा कार्यालयमा पत्रकार घेटघाट कार्यक्रममा साक्षर जिल्ला घोषणाका लागि जिल्ला अनौपचारीक शिक्षा समितिका अध्यक्ष जिसस प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा मुल समारोह समितिको गठन भएको जानकारी गराइएको थियो । समितिमा अनौपचारीक शिक्षा समितिका सदस्यहरु, स्थानीय तहका प्रमुख, गैरसरकारी संस्था लगायत सरोकारवालाहरुलाई समावेश गरिएको छ ।
यसैगरी विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीको संयोजकत्वमा कार्यक्रम प्रमाणपत्र ब्याज, शाखा अधिकृत दलबहादुर थापाको संयोजकत्वमा पत्राचार तथा निमन्त्रणा, स्रोत व्यक्ति मोहन बानियाको संयोजकत्वमा मञ्च व्यवस्थापन र दुर्गाराम सुवेदीको संयोजकत्वमा अतिथीसत्कार उपसमिति गठन भएको छ ।
बेनी सामुदायिक माविमा घोषणा समारोह गरिने जिशिअ रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । म्याग्दीका छ वटै स्थानीय तह र ४५ वटै स्थानीय तहलाई यसअघिनै साक्षर घोषणा गरिसकिएको छ । हालसम्म नेपालका ३८ वटा जिल्ला साक्षर घोषणा भैसकेका छन् ।
म्याग्दीमा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्या मध्य ७९ हजार ७३९ अथवा ९६.२७ प्रतिशत नागरीक साक्षर बनेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
म्याग्दीमा आर्थिक वर्ष २०६६७६ देखि निरक्षरलाई साक्षर बनाउनका लागि साक्षरता कक्षा सञ्चालन गरिदै आएको थियो । साक्षर बनिसकेकाहरुको निरन्तरता र क्षमता विकासका लागि सिकाई केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख केसीले विभिन्न आधार र तथ्याङ्कका आधारमा म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको बताउँदै यसले जिल्लाको पहिचान बढाउन र सामाजिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।