सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ पुष ।
छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुन दुई दिन बाँकी रहँदा सरमुकाम बेनी बजार झकीझकाउ बनेको छ ।
पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको सार्वजनीक स्थल सरसफाई गरेर चिटिक्क बनाइएको छ । स्थानीयबासीले ध्वजा पटकाले सिगारेर बजारलाई बिवाह घर जस्तै बनाएका छन् ।
विभिन्न संघ संस्था, व्यवसायीक प्रतिस्थानहरुले टोल टोलमा स्वागतका लागि तुल ब्यानर राखेका छन् । बजार प्रवेशका मुख्य नाकाहरुमा स्वागतद्धार निर्माण सुरु गरिएको छ । महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सुरक्षा, प्रचारप्रसार, स्टल निर्माण, आर्थिक संकलन, अतिथी सत्कार, टिकट बिक्री लगायत व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।
दश दिनसम्म चल्ने महोत्सवमा २०० भन्दा बढी ब्यापारीक स्टलहरु रहने भएका छन् । १८० स्टल रहने योजना बनाईपनि धेरैको माग आएकाले स्टल संख्या बढाइएको महासचिव गौतमले बताउनुभयो । महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।
बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुष २८ गते उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।
स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने जनाइएको छ ।
हालसम्म महोत्सवको लोकदोहोरी गित प्रतियोगितामा ८, लोकनृत्यमा ६ र रत्यौली प्रतियोगितामा ३ समूहले सहभागिताका लागि सम्र्पकमा आएको प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।