सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ पुष ।बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेलाको तयारी असी प्रतिशत सकिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुरक्षा, प्रचारप्रसार, स्टल निर्माण, आर्थिक संकलन, अतिथी सत्कार, टिकट बिक्री लगायत व्यवस्थापकीय तयारी असी प्रतिशत सकिएको संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
दश दिनसम्म चल्ने महोत्सवमा १८० वटा विभिन्न ब्यापारीक स्टलहरु रहने भएका छन् । महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको महासचिव लिलाराम गौतमले बताउनुभयो ।
स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुष २८ गते उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।
स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रचारप्रसार समितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।