सन्तोष गौतम/विकल्प न्यूज
बेनी २५ पुस ।
पर्वतको जलजला गाउँपालिकाले ९ नम्बर वडा बनौमा चालु आर्थिक वर्षमा सञ्चालन हुन लागेका पूर्वाधार योजनाहरुको वडामै सम्झौता गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र गाउँकार्यपालिकाको भौतिक पूर्वाधार निर्माण समितिका संयोजक देवेन्द्र भण्डारी (रवी) सहितको टोलीले मंगलबार बनौमा पुगेर योजना सम्झौता गरेको हो ।
अपायक पर्ने र बिकटताका कारण गाउँपालिकामा योजना सम्झौता गर्न स्थानीय उपभोक्तालाई असहज, झन्झट र दुःख हुने भएकाले वडामै पुगेर सबै प्रक्रिया पुरा गरि सम्झौता गरिएको भण्डारीले जानकारी दिनुभयो ।
बनौका वडा अध्यक्ष गौबहादुर पूर्जा पुनले पूर्वाधार निर्माण सम्बन्धि १४ वटा योजनाको सम्झौता भएको बताउनुभयो । गाउँमै योजना सम्झौता भएपछि गाउँपालिकामा धाउनुपर्ने समस्या हटेको छ । सडक, भवन, खानेपानी लगायत विभिन्न योजनाहरुको पहिलेनै प्राबिधिकले सर्वेक्षण गरिसकेका थिए ।
योजना सम्झौतासंगै उपभोक्ता समितिका पदाधीकारीहरुलाई योजना कार्यान्वयनका क्रममा अपनाउनुपर्ने बिधी प्रक्रियाको बारेमा जानकारी समेत गराइएको थियो । सोही अवसरमा बनौमा सञ्चालीत उद्योग र व्यवसायहरुको समेत अनुगमन गरी दर्ताका लागि आग्रह गरिएको थियो ।