बैङ्कको कमजोरीले भूकम्प पीडितको अनुदान फिर्ता भयो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २० पुष । IMG_3449बैङ्कको कमजोरीका कारण म्याग्दीका भुकम्प पीडितको लागि आएको रकम फिर्ता भएको छ ।  बैङ्कले समयमै चेक नसाट्दा बेनपा ९ घतान र रघुगंगा गाउँपालीका ७ चिमखोलाका भुकम्प पिडितलाई निजी आवास पुननिर्माणका लागि पहिलो किस्ता वापत प्राप्त भएको अनुदान रकम फिर्ता भएको हो ।

बेनीमा बिहीबार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालको उपस्थितीमा बेनीमा भएको अन्तरक्रिया कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त प्रमुख नारायण सुवेदीले भुकम्प पिडितको खातामा जम्मा गर्न दिएको चेक समयमै नसाट्दा फिर्ता भएको जानकारी गराउनुभयो ।

घतानका ४१ र चिमखोलाका ४ लाभग्राहीको निजी आवास पुननिर्माणका लागि ग्रिन डेभलपमेन्ट बैङ्कको बेनी शाखाले जिम्मेवारी लिएको थियो । असार मसान्त अघिनै बैङ्कले चेक साटेर भुकम्प पिडितको खातामा जम्मा गर्नुपर्नेमा चेक साट्न ढिलाई गर्दा अनुदान राष्ट्रिय पुननिर्माण कोषको खातामा फिर्ता भएको निमित्त प्रमुख सुवेदीले बताउनुभयो ।

यसैगरी वडा कार्यालयको ढिलासुस्तीका कारण रघुगंगा गाउँपालीका ४ दग्नामका भुकम्प पिडितहरुसंग अनुदान सम्झौता नै हुन नसकेको जिल्ला समन्वय समितिको पुननिर्माण आयोजनाका सम्पर्क व्यक्ति पदम भण्डारीले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा ८६८ लाभग्राही मध्य अझै २२३ लाभग्राहीसंग अनुदान सम्झौता गर्न बाँकी छ ।

अनुदान सम्झौता गरेका ६४५ मध्य ६०० जनालाई अनुदानको पहिलो किस्ता वापतको पचास हजार रुपैयाका दरले उपलब्ध गराइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रबत्ता यमलाल भुषालले फिर्ता भएको रकम पुन माग गर्नका लागि लाभग्राहीको विवरण सहित प्राधिकरणलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

गत असारमै भुकम्प पिडितलाई अनुदान वितरण गरिएपनी प्राबिधिकको अभावमा उनिहरुले निजी आवास पुननिर्माणको काम अघि बढाउन सकेका थिएनन् । म्याग्दीका छ वटा स्थानीय तहमा हालै सात जना प्राबिधिक खटिएका छन् ।

म्याग्दी लगायत भुकम्पबाट कम प्रभावीत जिल्लाहरुमा प्राबिधिक खटाइसकिएकाले पुननिर्माणलाई तिब्रता दिनका लागि सहजिकरणको भुमिका खेल्न प्रमुख कार्यकारी अधिकृत भुषालले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

आगामी बर्खा अघिनै भुकम्प पिडितलाई टहराबाट घरमा सार्ने प्राधिकरणको लक्ष्य रहेको बताउँदै डकर्मी अभावको समस्या समाधानका लागि डकर्मी तालीम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ लगायतले पुननिर्माणका क्रममा देखिएका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।