म्याग्दी महोत्सवका लागि आर्थिक स्रोत जुटाउने अभियानलाई तिब्रता

 सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ पुष । mahotshab byanar 4पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाका लागि आर्थिक स्रोत संकलन अभियानलाई तिब्रता दिइएको छ ।

महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले प्रायोजक र दाताहरुको खोजीलाई तिब्रता दिएको हो । हालसम्म स्टल बुकीङ बाहेक प्रायोजक र स्थानीय तहहरुबाट ३५ लाख रुपैया सहयोगको प्रतिवद्धता आएको संघका दितृय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्य प्रायोजकको रुपमा रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले तिन लाख, आईएमई गु्रपले दुई लाख, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाले २२ लाख रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । महोत्सव सञ्चालनका लागि ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको  महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले वस्थापकीय र प्रचारप्रसारसंगै आर्थिक स्रोत जुटाउने काम भैरहेको जानकारी गराउनुभयो । महोत्सवमा रहने १५० वटा स्टल बुक भैसकेका छन् । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यवसायीक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको छ ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।

महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएका छ । म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बताइएको छ । महोत्सवमा लोक दोहोरी, पुरुष महिला भलिबल, बास्केटबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।