जलजलामा ढुङ्गा खानी अनुगमनका लागि समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ पुष ।

IMG_8393पर्वतको जलजला गाउँपालीका क्षेत्रमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन भएको छ । जलजला गाउँकार्यपालीकाको बुधबार मल्लाज स्थित कार्यालयमा बसेको बैठकले वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको बैठकले गाउँपालीकाका सबै वडाहरुमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमन गरि प्रतिवेदन पेश गर्ने समितिलाई अधिकार दिएको छ ।

दर्ता नगरी, वातावरणलाई असर पार्ने गरी अव्यवस्थित रुपमा ढुङ्गाखानी उत्खनन् भएको पाइएपछी त्यसलाई नियमन र व्यवस्थित गर्न गाउँपालीकाले पहल थालेको हो । कर छलीका साथै अव्यवस्थित रुपमा जथाभावी ढुङ्गा उत्खनन् गर्दा पहिरो जाने जोखिम हुन्छ ।

यसैगरी गाउँपालीकाका ९ वटै वडा कार्यालयबाट विद्युतीय प्रबिधिको प्रयोग गरी व्यक्तिगत घटना दर्ता गर्नका लागि ल्यापटप खरिद र ईन्टरनेट जडान गर्ने निर्णय समेत भएको गाउँकार्यपालीकाका प्रबत्ता समेत रहनुभएका भण्डारीले जानकारी दिनुभयो ।

जन्म, मृत्यु, बसाईसराई, बिवाह, सम्बन्ध बिच्छेदका घटना अनलाईनबाट दर्ता गर्ने विषयमा गाउँपालीकाका वडा अध्यक्ष, सचिव र सामाजिक परिचालकलाई तिन दिने तालीम प्रदान गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

सार्वजनीक सेवालाई छिटो, छरिटो, प्रभावकारी, प्रबिधिमैत्री, पारदर्शी र अभिलेखलाई व्यवस्थित गर्न अनलाईन व्यक्तिगत घटना दर्ता प्रभावकारी हुने अपेक्षा गरिएको छ ।