सन्तोष गौतम/विकल्प न्यूज
बेनी ५ पुष ।
म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् ।
पाखापानीको सामुदायिक र सार्वजनिक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी र अबैध निकासी नियन्त्रणका लागि वडाका जनप्रतिनिधिहरुको बुधबार बसेको बैठकले कडाई गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष शेरपुञ्जाले सार्वजनीक सूचना जारी गरी अबैध रुपमा चोरी शिकारी गर्नेलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने चेतावनी दिनुभएको छ ।
चोरी निकासीका कारण कालीज, मृग, रतुवा लगायत वन्यजन्तु, पक्षीको संख्या घट्दै गएको, जथाभावी करेन्ट लगाएर माछा मार्दा जलजरको अस्तित्व संकटमा परेको र जडिवुटी लोप हुन लागेकोले कडाई गरिएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
उहाँले वडाका खोलाहरुमा एक वर्षका लागि माछा मार्नका लागि समेत रोक लगाइएको जानकारी दिनुभयो । प्राकृतिक स्रोत साधनको संरक्षण र व्यवस्थित परिचालन गरि वडाको आयस्रोतमा रुपान्तरण गर्ने योजना रहेको उहाँको भनाई छ ।