विकल्प न्यूज/बेनी
पुस ४ गते ।मिजार समाज म्याग्दीले क्यान्सर रोगबाट थलीएकी एक महिलालाई मंगलबार आर्थिक सहयोग गरेको छ । आन्द्रामा क्यान्सर भएर थलीएकी बेनपा २ बाङगेराकी ४८ वर्षिया सुकमाया किसानको औषधि उपचारका लागि दश हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । समाजका अध्यक्ष सुकलाल किसान, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर बोहोरा, सल्लाहकार मनबहादुर चर्माकार, सदस्य दिलगोपाल सिके र साना नेपालीको टोलीले सुकमायाको घरमै पुगेर उहाँकी बुहारीलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका विपन्न वर्गका दर्जीको औषधि उपचारमा थोरै भएपनि सघाउ पुगोस भनेर सहयोग गरेको समाजका अध्यक्ष सुकलाल किसानले बताउनुभयो । गत जेठ महिनादेखि बिरामी परेकी सुकमायाले भरतपुर क्यान्सर अस्पतालका चिकित्सकको निगरानीमा उपचार गराईरहनुभएको छ । आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेकाले सहयोगका लागि सुकमायाले अपिल गर्नुभएको छ ।