सन्तोष गौतम /न्यूज
म्याग्दी ४ पुस । यस वर्ष म्याग्दीको प्रमुख फलफुल बाली सुन्तलाको उत्पादनमा कमी आएको छ । प्रतिकुल मौसम र रोगकिराको समस्याका कारण उत्पादन घटेको कृषकहरुले बताएका छन् । विगतका वर्षको तुलनामा कम फल लागेको र फलेका दाना पनी “फ्रुट फ्लाई” रोगका कारण नटिप्दै झर्ने क्रम बढेपछि कृषक चिन्तीत भएका छन् ।
सुन्तला फुल खेल्ने र बटीला लाग्ने बेलामा पर्याप्त पानी नपर्नु, कतिपय ठाउँमा असिनाले क्षत्ती पु¥याउनु, बगैचा व्यवस्थापनको कमी र टिप्ने बेलामा फल झर्ने समस्याका कारण सुन्तलाको उत्पादन बढाउन चुनौती देखिएको छ ।
बेनी नगरपालीका ३ मरेकका कृषक ईन्द्र थापाले दश प्रतिशत दाना कुहीएर भुईमा झरीसकेको बताउनुभयो । झरेको दानाभित्र औशा देखिएको छ । मरेक, बास्कुना, राखु, बरंजा, देविस्थान, ताकम, बिम, दोसल्ले, भुरुङ तातोपानी लगायत पकेट क्षेत्रमा गरिएको सुन्तला खेतीमा “फ्रुट फ्लाई” रोगको समस्या देखिएको कृषकहरुले बताएका छन् ।
सडक सूबिधा विस्तारसंगै सुन्तलाले बजार पाउन र माग बढ्न थालेपनि सिचाईको समस्याका कारण उत्पादन र गुणस्तर बढाउन नसकीएको बेनपा ४ बास्कुनाका कृषक दलबहादुर कार्कीले बताउनुभयो । बास्कुनाका १९ घरपरिवार कृषकले अन्नबालीको विकल्पमा व्यवसायीक रुपमा सुन्तला खेती गरेपनी सिचाईको अभाव प्रमुख समस्या देखिएको कार्कीले बताउनुभयो ।
६८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको म्याग्दीमा गत वर्ष दुई हजार ४७३ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । यसपाली गत वर्षको तुलनामा दश देखि पन्ध्र प्रतिशत सम्म उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको कृषि विकास कार्यालयका प्राबिधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो ।
म्याग्दीको विभिन्न ठाउँमा उत्पादन भएको सुन्तला याम सुरु भएसंगै कृषकले बोटबाट टिपेर बजार पठाउन थालेका छन् । सुन्तला खरिदका लागि ब्यापारीहरु नटिप्दै बगैचामै आएर पेश्की दिएका छन् ।
बेनी नगरपालीको राखु, मरेक, बास्कुना, मंगला गाउँपालीकाको बरंजा, भोर्लेनी, अर्मन, कुहुँ, मालीकाको बिम, ओखरबोट, रुन्मा, धौलागिरीको ताकम क्षेत्रका कृषकका बगैचामा फलेका सुन्तला काठमाडौ, पोखरा, धादीङ, चितवन लगायतका सहरी क्षेत्रबाट आएका ब्यापारीले बुक गरेका छन् ।
यस वर्ष कृषकले प्रतिकिलो ४२ देखि पचास रुपैयाका दरले बगैचाबाटै सुन्तला बिक्री गरेका छन् । सडक सञ्जालको विस्तारसंगै पछिल्लो केही वर्षयता म्याग्दीमा उत्पादन भएको सुन्तलाले बजार पाउन थालेको छ । सडक सुबिधा नहुँदा म्याग्दीका कृषकले उत्पादन गरेको सुन्तला स्थानीय बजारमा सिमीत थियो ।
कृषकले उचित मूल्य पाउन सकेका थिएनन् । सुन्तला खेती म्याग्दीको प्रमुख फलफुल बालीको रुपमा रहेको छ । सुन्तला बिक्री गरेर म्याग्दीमा वार्षिक तिन देखि चार करोड रुपैया भित्र्ने गरेको छ ।