कुहुँ र बाबियाचौर पुगेर सांसदद्धयले भने – जनताको मन जित्ने काम गर्दछौं

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३ पुष ।

Kuhun Program (1)म्याग्दीका नवनिर्वाचित सांसदहरुको टोलीले सोमबार मंगला गाउँपालीका १ कुहुँ र २ बाबियाचौरका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ ।

मतदातालाई धन्यवाद ज्ञापन गर्नका लागि नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले कुहुँ र बाबियाचौरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थीर सरकार बनाएर देशमा विकास गर्नका लागि बनेको बामगठबन्धनलाई जनताले दिएको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य समेत रहनुभएका थापाले स्थानीय तहबाट सम्बोधन हुन नसकेका जनताका आवश्यकता र समस्याका लागि संघीय सरकारबाट योजना, कार्यक्रम र बजेट ल्याएर सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित सांसद नरदेवी पुनले सामाजिक परिवर्तन र समतामुलक समाज निर्माणमा जोड दिदै महिलाको आर्थिक स्रोत र शिक्षामा पहुँच बढाउन प्राथमिकता दिने बताउनुभयो ।

उहाँले म्याग्दीलाई विकसीत र समृद्ध बनाउन स्थानीय स्रोत साधनको परिचालन गर्ने निती तथा कार्यक्रम बनाउने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य चन्द्रबहादुर घिमीर र एमालेका नेता शंकर शेरचनले बाम गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गरिने बताउनुभयो ।

मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले विकास, सम्बृद्धी र सुशासनलाई प्राथमिकता दिइएको बताउँदै सबै विकासका लागि जनताको सक्रियता र जागरुकता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष डेगबहादुर राम्जाली, स्थानीय बमबहादुर रोका, धनलाल रोका, पूर्णमाया शेरपुञ्जाले जनताको भावना, चाहना बुझेर उनिहरुको समस्याप्रती संवेदनशिल भएर काम गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

एमालेका मंगला गाउँ कमिटि संगठन कमिटिका संयोजक प्रेमप्रसाद रेग्मीको अध्यक्षता, युवा संघका गाउँपालीका संयोजक एकजित रोकाको सञ्चालन र गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।