विकल्प न्यूज/बेनी
पुस १ गते ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बिजयी भएपछि मतदातालाई धन्यबाद दिन गाउँ गाउँमा पुगेका म्याग्दीका साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुमा पुगेर मतदातालाई धन्यबाद ज्ञापन गरि शनिवार रघुगंगा गाउँपालिका–१ बेगखोला र वडा नम्बर २ भगवतीमा पुगेका प्रतिनिधिसभाका साँसद भुपेन्द्रबहादुर थापा र प्रदेश सभा साँसद विनोद केसी सहितको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका हुन् ।भगवती स्थित मैदानमा आयोजित मतदातालाई धन्यबाद ज्ञापन कार्यक्रममा स्थानीय आमा समुह, युवाहरु र सर्वसाधारणसंगै बाम गठबन्धनले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।
मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय बासिन्दाले विभिन्न विकास योजनाको माग र समस्याको बारेमा ध्यानाकर्षण समेत गराएका छन् । सांसदद्धय थापा र केसीले चुनावमा जिताउन सहयोग गर्ने मतदाता र स्थानीय कार्यकर्तालाई धन्यवाद दिदै जिल्लाबासीको साझा प्रतिनिधिको रुपमा जनताको समस्या समाधान, आवश्यकताको सम्बोधन, विकास र सम्बृद्धीको अभियानमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले स्थिर सरकार निर्माण गरि मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडी लैजान आम जनताले दिएको जनमत अनुसार आफुहरु अगाडी बढ्ने बताउँदै निर्वाचनमा मतदान गरि बिजयी गराउने मतदातालाई धन्यबाद ज्ञापन गर्नुभयो ।
उहाँले स्थानीय स्रोत र साधनको उपयोग गर्दै सम्भावनाहरुको उजागर गर्नतर्फ आफ्नो प्रमुख जोड रहने बताउँदै सबैसंग हातेमालो गर्दै विकास निर्माणलाई अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसीले आफ्नो जन्मभूमिले निर्वाचनमा आफुप्रति लगाएको गुन आगामी दिनमा काम गरेर तिर्ने बचनबद्धता गर्नुभएको थियो ।
उहाँले मतदातालाई धन्यबाद ज्ञापन सहित आगामी योजनाहरु निर्माणमा आफुहरु जनताका समस्याहरु बुझ्नको लागि गाउँ गाउँमा पुगेको बताउँदै जनताको सच्चा सेवकको रुपमा आफुले काम गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, एमाले जिल्ला सदस्य तर्क केसी, नारायण पुन, वडा २ का वडा अध्यक्ष रिम कटुवाल, समाजसेवी देवेन्द्र बहादुर मल्ल, माओवादी केन्द्रका युवा नेता हरि भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । नेकपा एमालेका वडा कमिटी अध्यक्ष ध्रव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन झलक शर्माले गर्नुभएको थियो ।