प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ मंसिर ।

IMG_2077 (1)जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले महिला मैत्री भवन र नागरीक सहायता कक्षा सञ्चालन भएपछि दुर्गम ग्रामिण क्षेत्रमा गरिब विपन्न महिलाहरुलाई आफ्नो समस्या व्यक्त गर्न सहज हुने र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले लैङ्गीक हिंसामा परेका महिला तथा बालबालीकाहरुको गुनासो सुनुवाई गरि उनिहरुको समस्या सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भवनको सदुपयोगमा जोड दिनुभयो ।

प्रहरी निरिक्षक सन्तोष रोकाले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले पनी कार्यक्रममा मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दीका विभिन्न संघ संस्था, व्यवसायी र स्थानीयबासीको सहयोगमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण भएको हो । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिएको भवनमा सहायता कक्ष र आश्रय स्थलका लागि दुई वटा छुट्टा छुट्टै कक्ष रहेका छन् ।

भवन निर्माण समितिका अध्यक्ष श्यामलाल न्यौपानेले आठ लाख ९२ हजार ११४ रुपैया बराबरको खर्च विवरण सार्वजनीक गर्नुभएको थियो । हिंसामा परेका महिला तथा बालबालीकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरीक सहायता र आश्रयस्थल कक्ष सञ्चालन गर्न लागिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

ग्रामिण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रात सम्म आश्रय सुबिधा दिइने उहाँले बताउनुभयो । आश्रयस्थल सञ्चालन भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पिडितहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
प्रहरी कार्यालयले सूचना शाखामा नागरीक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पिडितको लागि आश्रय दिने संघ संस्था नहुँदा समस्या भएको थियो । उद्घाटन कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।