सन्तोष गौतम /विकल्प न्यूज
बेनी २४ मंसिर ।
बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासीय माविले आईतबारदेखि सप्ताहब्यापी कार्यक्रम गरेर रजत जयन्ती मनाउन सुरु गरेको छ ।
स्थापनाको २५ वर्ष पुगेको अवसरमा वेष्ट पोईन्टले २०७४ लाई रजत जयन्ती वर्षको रुपमा विभिन्न कार्यक्रम गरीरहेको छ । सप्तहब्यापी कार्यक्रमको पहिलो दिन सदरमुकाम बेनी बजारमा झाँकी प्रर्दशन गरिएको छ ।
बिरौटा स्थित विद्यालयबाट सुरु भएको विद्यार्थी, शिक्षक, शिक्षीका, कर्मचारी, सञ्चालक, अभिभावकहरुको झाँकीले बजार परिक्रमा गरि विद्यालय परिसरमा पुगेर समापन भएको थियो ।
विद्यार्थीहरुले विभिन्न जात जातीका मौलीक पहिरनमा सजिएर झाँकी प्रर्दशन गरेका हुन् । नयाँ पुस्तालाई आफ्नो मौलीक कला र संस्कृतीको महत्वका बारेमा जानकारी गराई संरक्षणमा अग्रसर बनाउने उद्देश्यले झाँकी प्रर्दशन गरिएको प्रिन्सीपल डाक्टर लाल रापचाले बताउनुभयो ।
विद्यार्थीहरुले मगर, थकाली, नेवार, क्षेत्री, ब्रह्मण, दलीत लगायत आफ्नो समूदायको जातीय पहिरनमा सजिएर बाजागाजा र नाचगान सहित बजार परिक्रमा गरेका थिए । सप्ताहब्यापी कार्यक्रम अन्तरगत स्ट्रिट सो, पुरुष अभिभावकबीच बास्केटबल, महिला अभिभावकको भलिबल, खुल्ला चेस, बृहत विज्ञान प्रर्दशनी, रक्तदान र बिशेष समारोहको आयोजना गरिएको छ ।
रजत जयन्ती वर्षको अवसर पारेर वेष्ट पोईन्टले यसअघि जिल्ला स्तरीय बाल भेला सम्पन्न गरिसकेको छ । त्यस्तै बेनपा ८ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिका सामाग्री सहयोग गर्नुका साथै शैक्षिक सहकार्य समेत गरेको छ ।